तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २९, शनिबार ११:०९
तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै उर्मिला

कञ्चनपुर: मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुरका उर्मिला डगौराले ।

तीन दशकअघि एक कट्ठा जग्गामा तरकारीखेती गर्नुभएका उहाँले तरकारीखेतीकै आम्दानीले दुई वर्षपछि दुई कट्ठा जग्गा खरिद गर्नुभयो । त्यसपछि आम्दानी गर्दै जग्गा थप्दै गरेर तरकारी खेती विस्तार गरेको उहाँको भनाइ छ । उहाँको मेहनतमा श्रीमान् रामबहादुरको ठूलो सहयोग छ । तरकारीखेतीसँगै स्थानीय लालपुर बजारमा उहाँका श्रीमान्ले किराना पसल सञ्चालन गर्नुभएको छ ।

उक्त पसलमा आफ्नै खेतमा उत्पादन गरेको तरकारी बिक्री गर्ने गर्नुभएको छ । “तरकारी र पसल गरेर हामीले जग्गा थप्दै गयौँ अहिले १५ कट्ठा जग्गा छ”, उर्मिलाले भन्नुभयो, “अहिले १५ कट्ठा जग्गामा तरकारीखेती गरेका छौँ त्यसबाट सन्तोषजनक आम्दानी भइरहेको छ ।” उहाँले छोरी रविनालाई डाक्टर पढाउन हालसम्म रु ६० लाख खर्च भइसकेको बताउनुभयो । सबै खर्च तरकारीखेतीबाटै धानेको उहाँको भनाइ छ । उहाँले लहरे तरकारीबाटै सिजनमा रु दुई लाख बचत हुने गरेको बताउनुभयो ।

तरकारीखेती सुरु गरेको केही वर्षपछि महेन्द्रनगरको उदयदेव सहकारीले गाउँमै पुगेर उद्यम गरिरहेका महिलाहरुको समूह गठन ग¥यो । सहकारीले गठन गरेको तुलसी उदयदेव महिला केन्द्रमा उहाँ आबद्ध हुनुभयो । सरकारीले उक्त समूहमा आबद्ध तरकारीखेती गरिरहेका महिलाहरुलाई निःशुल्क प्राविधिक सहयोग गरेपछि खेती गर्न सहयोग पुगेको उहाँको अनुभव छ ।

उहाँले सहकारीको सहयोगपछि तरकारी उत्पादनमा वृद्धि समेत भएको बताउनुभयो । “हामीले परम्परागत रुपमा खेती गर्दै आएका थियो”, उहाँले भन्नुभयो, “सहकारीले धेरै ज्ञान दियो त्यसले उत्पादनमा फाइदा भयो ।” उक्त समुहमा १६ महिला आबद्ध छन ।

सहकारीले तराईको उत्पादनलाई पहाड र पहाडको उत्पादनलाई तराईसम्म ल्याउन शाखासमेत विस्तार गरेको उदयदेव सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दको भनाइ छ ।

प्रकाशित मिति: २०८१ भाद्र २९, शनिबार ११:०९

तपाईको प्रतिक्रिया !