मधेश प्रदेशका मुख्यमन्त्री सिँह र युएसएडको नेपाल मिसन निर्देशक डोनोहोईबीच भेट

मधेश प्रदेशका मुख्यमन्त्री सिँह र युएसएडको नेपाल मिसन निर्देशक डोनोहोईबीच भेट
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २६, बुधबार १६:२६
मधेश प्रदेशका मुख्यमन्त्री सिँह र युएसएडको नेपाल मिसन निर्देशक डोनोहोईबीच भेट

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहसँग युएसएडको नेपाल मिसनका नयाँ निर्देशक क्याटी डोनोहोईले बुधबार शिष्टाचार भेट गरेकी छिन् ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिँहलाई भेटेर नेपालमा र खासगरी मधेश प्रदेशमा विकास तथा समृद्धिका लागि युएसएडका प्रयास एवम् साझेदारीबारे जानकारी गराएकी छिन् ।

भेटमा प्रदेशका स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधन सिँह कोइरी, खेलकुद तथा समाजकल्याण मन्त्री प्रमोद जायसवाल, नीति तथा योजना आयोगका उपाध्यक्ष डा.सोहन साहलगायत सहभागी थिए ।

मुख्यमन्त्री सिँह र युएसएडको नेपाल मिसनका नयाँ निर्देशक डोनोहोईका बीचमा सरकारहरू तथा विभिन्न गैरसरकारी संस्थासँगको साझेदारीमा मधेश प्रदेशका युएस एडले गरेका र भविष्यका निश्चित एवम् सम्भावित कार्ययोजनाको अर्थपूर्ण नतिजाका विषयमा समेत छलफल भएको छ ।

मुख्यमन्त्री सिँहले प्रदेशका सीमान्तकृत, पिछडिएका र अल्पसँख्यक जनताको आर्थिक तथा सामाजिक तथा साँस्कृतिक रूपान्तरणका लागि युसएडको प्रयासको सराहना गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास र जीविकोपार्जनका क्षेत्रमा प्रदेश सरकार युएस एडसँग काम गर्न इच्छुक रहेको बताए ।

उनले प्रदेश सरकारले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहायता साझेदारीका क्षेत्र पहिचान गरी नीतिगत गृहकार्य गरिसकेको भन्दै साक्षरता, विद्यालय शिक्षामा उमेर पुगेका सबै बालबालिकाको पहुँच तथा आधारभूत शिक्षाको गुणस्तरवृद्धि, प्रदेशका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन तथा तिनको रोजगारीको अवसर सुनिश्चितता, गाउँघरमै आधारभूत स्वास्थ्यका सम्पूर्ण सेवाको प्रभावकारी व्यवस्थापन आदिलाई प्राथमिक्तामा राखेको प्रस्ट्याए ।

युएसएडको नेपाल मिसनका निर्देशक डोनोहोईले मुख्यमन्त्री सिँहलाई सरकारहरू तथा विभिन्न गैरसरकारी संस्थासँगको साझेदारीमा मधेश प्रदेशका पिछडिएका, सीमान्तकृत तथा जोखिममा रहेका व्यक्तिको आर्थिक, सामाजिक, राजनीतिक तथा वातावरणीय उन्नयनका लागि भएका प्रयास तथा त्यसबाट प्राप्त उपलब्धिका बारेमा बताउँदै विभिन्न विषयगत क्षेत्रमा मधेश प्रदेश सरकारसँग साझेदारी गर्न युएसएड उत्सुक रहेको बताइन् ।

प्रकाशित मिति: २०८१ भाद्र २६, बुधबार १६:२६

तपाईको प्रतिक्रिया !