धनुषामा बलात्कारका आरोपी अझै फरार, श्रीमानले त्यागेपछि पीडित महिलाको बिचल्ली

धनुषामा बलात्कारका आरोपी अझै फरार, श्रीमानले त्यागेपछि पीडित महिलाको बिचल्ली
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १२, शनिबार १६:१५
धनुषामा बलात्कारका आरोपी अझै फरार, श्रीमानले त्यागेपछि पीडित महिलाको बिचल्ली

जनकपुरधाम : धनुषामा बलात्कारको घटनाकी एक पीडित महिला न्याय नपाउँदा र पारिवारिक साथ गुमाउँदा बिचल्लीमा परेकी छन्। घटनामा संलग्न आरोपित अझै पक्राउ नपरेको भन्दै उनले पीडा व्यक्त गरेकी छन्।

धनुषाको सबैला नगरपालिका–३ निवासी २२ वर्षीया महिलाले आफू गत पुस ६ गते बलात्कारमा परेको भन्दै चैत १ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएकी थिइन्। तर, जाहेरी दर्ता भएको लामो समय बितिसक्दा पनि आरोपित पक्राउ नपरेको र आफू घरबारविहीन अवस्थामा पुगेको उनको गुनासो छ।

ADVERTISEMENT

पीडितका अनुसार पुस ६ गते साँझ जनकपुरधाम–४ मुरली चोक क्षेत्रमा ‘प्रसाद’ भन्दै दिएको लड्डु खाएपछि उनी बेहोस भएकी थिइन्। सोही अवस्थाको फाइदा उठाउँदै आरोपितले आफ्नो इच्छाविपरीत करणी गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन्। जाहेरीमा आरोपित सबैला नगरपालिका–३ का अमिस महरा रहेको उल्लेख छ।

जाहेरीअनुसार आरोपितले घटनाको भिडियोसमेत बनाएको र सार्वजनिक गर्ने तथा परिवारलाई हानि पुर्‍याउने धम्की दिँदै पटक–पटक करणी गरेको आरोप छ।

घटनापछि श्रीमानले गलत बुझाइका कारण आफूलाई घरबाट निकालिदिएको र हाल माइतमा बस्दै आएको पीडितले बताएकी छन्।

पीडितका अनुसार आरोपित जनकपुरधामस्थित एक अस्पतालमा कार्यरत छन् र खुलेआम हिँडडुल गरिरहे पनि प्रहरीले पक्राउ नगरेको छ। दोषीमाथि कारबाही नभएको र पारिवारिक साथसमेत गुमाउँदा आफू थप समस्यामा परेको उनले गुनासो गरेकी छन्।

प्रकाशित मिति: २०८३ बैशाख १२, शनिबार १६:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !