रेन परियोजनाद्वारा सिरहा–५ को मुसहरी टोलमा सुरक्षित आश्रयस्थल उद्घाटन

रेन परियोजनाद्वारा सिरहा–५ को मुसहरी टोलमा सुरक्षित आश्रयस्थल उद्घाटन
मधेशपत्र मधेशपत्र २०८२ पुष ६, आईतवार २१:४३
रेन परियोजनाद्वारा सिरहा–५ को मुसहरी टोलमा सुरक्षित आश्रयस्थल उद्घाटन

सिरहा : वेलायत सरकारको आर्थिक सहयोगमा सञ्चालनमा रहेको उत्थानशीलता, अनुकूलन तथा समावेशी नेपाल (रेन) परियोजना अन्तर्गत सिरहा नगरपालिका–५ स्थित मुसहरी टोलमा निर्माण गरिएको सुरक्षित आश्रयस्थलको उद्घाटन गरिएको छ।

आश्रयस्थलको उद्घाटन सिरहा नगरपालिका–५ का वडा अध्यक्ष जागेश्वर प्रसाद यादव, लि–बर्डका वरिष्ठ सल्लाहकार डा. बलराम थापा, लि–बर्डका कार्यकारी निर्देशक भरत भण्डारी तथा वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन महाशाखाका प्रतिनिधि नरेश शर्माले संयुक्त रूपमा गरिएको हो।

ADVERTISEMENT

रेन परियोजनाअन्तर्गत गरिएको अध्ययनअनुसार सिरहा नगरपालिकामा जलवायु परिवर्तनबाट उत्पन्न जोखिममध्ये बाढीको जोखिम सबैभन्दा उच्च रहेको र वडा नं. ५ अत्यधिक प्रभावित क्षेत्रका रूपमा पहिचान गरिएको छ। बाढीका कारण हरेक वर्ष ठूलो मात्रामा धनजनको क्षति हुँदै आएको छ।

जोखिमलाई मध्यनजर गर्दै बाढी तथा अन्य विपद्का बेला समुदायलाई सुरक्षित आश्रय प्रदान गर्ने उद्देश्यले पुरानो सामुदायिक भवनलाई रेन परियोजनाले मर्मत–सम्भार गरी बहुउद्देश्यीय सुरक्षित आश्रयस्थलका रूपमा विकास गरिएको हो। उक्त भवनलाई विपद्का समयमा आश्रयस्थलका रूपमा तथा अन्य समयमा विभिन्न सामुदायिक गतिविधिका लागि प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

रेन परियोजनाका मधेश प्रदेशका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष मोरवैताका अनुसार परियोजनाले समुदायको दीर्घकालीन सुरक्षा र जलवायु जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्दै उक्त संरचना निर्माण सम्पन्न गरी आज औपचारिक रूपमा समुदायलाई हस्तान्तरण गरिएको हो।

स्थानीयवासीहरूले सुरक्षित आश्रयस्थल निर्माणले विपद्का बेला ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै रेन परियोजनाप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ पुष ६, आईतवार २१:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !