धनुषामा सीमावासीसँग सशस्त्र प्रहरीको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

धनुषामा सीमावासीसँग सशस्त्र प्रहरीको अन्तर्क्रिया कार्यक्रम सम्पन्न
बिपीनकुमार यादव बिपीनकुमार यादव २०८२ कार्तिक २९, शनिबार १८:२२
धनुषामा सीमावासीसँग सशस्त्र प्रहरीको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाम : सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले धनुषाका सीमावासीसँग सीमा क्षेत्रमा देखिएका समस्याबारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

शुक्रबार जटहीमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषाले भारतसँग सीमा जोडिएका स्थानीय तहका प्रमुख, वडाध्यक्ष तथा नागरिकसँग सीमा सुरक्षासम्बन्धी चुनौती र समाधानका विषयमा छलफल गरेको हो।

ADVERTISEMENT

“सीमावासीसँग सशस्त्र प्रहरीको कार्यक्रम” नाराका साथ आयोजित अन्तर्क्रियामा सरोकारवालाहरूले हराएका सीमास्तम्भ पुनर्निर्माण तथा बन्द रहेका छोटी भन्सार पुनःसञ्चालन गर्न माग गरे।

विदेहनगरपालिका प्रमुख बेचन दासले नेपालमा मलखाद्य पर्याप्त नपाइने अवस्थामा व्यावहारिक रूपमा सहजरूपमा आयातको व्यवस्था गर्नुपर्ने बताउँदै स-सानो परिमाणमा ल्याइने चिनी, साडीजस्ता सामग्रीलाई तस्करीका रूपमा नहेर्नु पर्ने धारणा राखे। उनले सीमाक्षेत्रमा उखु खेती नै नभएको स्थानमा नागरिकले भारतबाट ल्याएको चिनी जफत हुने गरेको, गरिबले ल्याएको सामान्य खाद्यान्नमा सहुलियत हुनुपर्ने बताए।

धनौजी गाउँपालिका अध्यक्ष राजकुमार साहले सीमाक्षेत्रका सबै भन्सार सञ्चालनमा आएमा राजस्व वृद्धि हुने र तस्करी नियन्त्रणमा मद्दत पुग्ने उल्लेख गरे।

मुसहरनिया गाउँपालिका अध्यक्ष जयकुमार यादवले हराएका सीमास्तम्भ तत्काल निर्माण गर्नुपर्ने बताउँदै खुला सिमानाका कारण सशस्त्र प्रहरीमाथि लागु औषध, गाँजा तथा अवैध हातहतियार तस्करी नियन्त्रणको चुनौती बढिरहेको बताए।

नगराईन नगरपालिकाका प्रमुख विनय यादवले जटही क्षेत्रमा बढ्दो लागुऔषध समस्या रोकथाममा सबैको सहयोग आवश्यक रहेको बताए। कार्यक्रममा सहभागीहरूले सीमा क्षेत्रमा देखिने दुई देशबीच उत्पन्न समस्या, लागुऔषध कारोबार लगायतका विषय उठाउँदै समाधानका लागि पहल गरिनुपर्ने माग गरे।

सहभागीहरूको जिज्ञासामा जवाफ दिँदै प्रमुख अतिथि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक कुमार बमले हराएका सीमास्तम्भ दुवै देशको सहकार्यमा पुनर्निर्माण गरिने प्रतिबद्धता जनाए। उनले मधेश प्रदेशका आठवटै जिल्लामा सीमावासीसँग अन्तर्क्रिया गर्ने योजनाअनुसार कार्यक्रम सञ्चालन भइरहेकाे बताउँदै प्राप्त सुझावअनुसार समस्या समाधानमा सहयोग पुर्याइने बताए।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषाका गणपति प्रहरी उपरीक्षक (डीएसपी) निर्मल खड्काले स्वागत मन्तव्य राख्दै नेपाल–भारत सीमाक्षेत्रको अवस्थाबारे तथ्यगत जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा वडाध्यक्ष संजय पाण्डे, वडाध्यक्ष दिलिप यादव, महिनाथपुर गुल्मपति डीएसपी सीताराम पौडेल, जटही गुल्मपति डीएसपी तेजराज शर्मा, सञ्चारकर्मी मुकेश ठाकुर, विपिन यादव, आयुव हुसेन, बैजनाथ साह, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८२ कार्तिक २९, शनिबार १८:२२
बिपीनकुमार यादव

बिपीनकुमार यादव

लेखक


तपाईको प्रतिक्रिया !