जनस्वराज पार्टी गठन, सामूहिक नेतृत्वमा सञ्चालन गर्ने

जनस्वराज पार्टी गठन, सामूहिक नेतृत्वमा सञ्चालन गर्ने
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ आश्विन ४, शनिबार २०:२६
जनस्वराज पार्टी गठन, सामूहिक नेतृत्वमा सञ्चालन गर्ने

जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट कारबाहीमा परेका तथा अलग भएका नेताहरूले नयाँ पार्टी गठन गरेका छन्।

मधेस प्रदेशको राजधानी जनकपुरमा डा. सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म बसेको बैठकले ‘जनस्वराज पार्टी’ गठन गरेको हो।

ADVERTISEMENT

पार्टीलाई सामूहिक नेतृत्वमा सञ्चालन गरिने भएकाले कसैलाई अध्यक्ष नबनाइएको पार्टीका नेता ई. दीपक साहले जानकारी दिए। उनले भने, “पार्टी सञ्चालनका लागि विभिन्न विभाग गठन गरेका छौं, विभागीय जिम्मेवारीमार्फत पार्टी अघि बढ्छ।”

नयाँ पार्टी गठनसँगै तीन विभाग पनि बनाइएका छन्। राजनीतिक संगठन विभागको जिम्मेवारी ई. दीपक कुमार साहलाई, आर्थिक विभागको जिम्मेवारी ई. सुरेन्द्रनारायण यादवलाई र प्रशिक्षण विभागको जिम्मेवारी डा. सञ्जयकुमार साहलाई दिइएको छ।

पार्टीको गतिविधि विस्तारका लागि अन्य नेताहरूलाइ पनि विभागीय जिम्मेवारी दिने तयारी भइरहेको ई. साहले बताए। साह यसअघि जनमत पार्टीमा उपाध्यक्ष तथा अनुशासन समिति संयोजक थिए भने यादव कोषाध्यक्ष थिए। दुवैलाई अध्यक्ष डा. सीके राउतले कारबाही गरेर निष्कासन गरेका थिए।

जेन-जि आन्दोलनपछि जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताले विद्रोह गर्दै पार्टी छाडेका थिए। हाल उनीहरू जनस्वराज पार्टीमा खुलेर आएका छैनन् तर निरन्तर संवाद भइरहेको नेता साहले बताए।

जनस्वराज पार्टीले व्यक्तिवाद होइन सामूहिक सहभागिता, पद होइन जिम्मेवारी र जवाफदेहिता, विभाजन होइन एकता र समानताका लागि प्रतिबद्धता जनाएको छ।

पार्टीले “जनताले आफ्नो शासन आफैं गर्ने व्यवस्था” को मार्गदर्शन लिएको बताउँदै पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारमुक्त र पारदर्शी राजनीति, स्थानीय स्वायत्तता र जनसहभागितासहित कार्यकारी राष्ट्रपति प्रणाली अवलम्बन गर्ने उद्देश्य अघि सारेको छ।

प्रकाशित मिति: २०८२ आश्विन ४, शनिबार २०:२६
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !