आत्मदाह प्रयासअघि पासवानले भिडियोमार्फत रुबीको हत्या स्वीकार

आत्मदाह प्रयासअघि पासवानले भिडियोमार्फत रुबीको हत्या स्वीकार
अमित ठाकुर अमित ठाकुर २०८२ भाद्र ११, बुधबार १२:४४
आत्मदाह प्रयासअघि पासवानले भिडियोमार्फत रुबीको हत्या स्वीकार

रौतहट : रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि रेकर्ड गरेको करिब १० मिनेट लामो भिडियो सार्वजनिक भएको छ। भिडियोमा उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका छन् भने घटनाको प्रमुख दोषी रुबीकी आमा भएको आरोप समेत लगाएका छन्।

माधव नारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा फेला परेका पासवानलाई प्रहरीले गम्भीर घाइते अवस्थामा उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर रेफर गरेको छ।

ADVERTISEMENT

भिडियोमा पासवानले रुबीसँग कक्षा १० पढ्दादेखि नै प्रेम सम्बन्ध रहेको र दुवैजनाले सर्लाही जिल्ला अदालत र भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको उल्लेख गरेका छन्। तर दुवै परिवारले उक्त सम्बन्ध अस्वीकार गरेको उनले बताए। साथै, रुबीकी आमाले पैसाको प्रलोभनमा परेर छोरीलाई अन्य केटाहरूसँग सम्बन्ध राख्न लगाएको आरोप पनि लगाएका छन्।

गत शनिबार राति गौरमा सुटकेसभित्र रुबीको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानको सुई पासवानतर्फ गएपछि उनी फरार थिए। आत्मदाह प्रयासअघि उनले भिडियोमार्फत आफू र रुबीबीच लामो समयसम्म कुराकानी भएको र अन्ततः दुवैजनाले मर्ने निर्णय गरेको दाबी गरेका छन्।

“रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ,” उनले भिडियोमा भनेका छन्। साथै, पक्राउ परेका रिक्सा चालक निर्दोष रहेको भन्दै उसलाई दोष नदिन आग्रहसमेत गरेका छन्।

हाल गम्भीर घाइते अवस्थामा रहेका पासवानको प्रहरी निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र ११, बुधबार १२:४४
अमित ठाकुर

अमित ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !