मधेस प्रदेशका मुख्यमन्त्री सिंह मलेसिया भ्रमण सकेर स्वदेश फर्किए

मधेस प्रदेशका मुख्यमन्त्री सिंह मलेसिया भ्रमण सकेर स्वदेश फर्किए
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १०, मंगलवार २२:२३
मधेस प्रदेशका मुख्यमन्त्री सिंह मलेसिया भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर मंगलबार साँझ स्वदेश फर्किएका छन्।

मुख्यमन्त्री सिंह भदौ ६ गते मलेसिया प्रस्थान गरेका थिए। वैदेशिक रोजगारीका लागि पुगेका नेपाली, विशेष गरी मधेस प्रदेशका श्रमिकहरूको अवस्था प्रत्यक्ष बुझ्ने उद्देश्यले उनले भ्रमण गरेका थिए।

ADVERTISEMENT

भ्रमणका क्रममा सिंहले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट गर्दै श्रमिकहरूको समस्या, अधिकार र चुनौतीबारे छलफल गरेका थिए। उनले कामदारलाई आवश्यक सहयोग गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै श्रमिकहरूको आवाजलाई भविष्यमा नीतिगत रूपमा सम्बोधन गर्ने आश्वासन दिए।

मलेसिया बसाइका क्रममा उनले विभिन्न औपचारिक कार्यक्रममा समेत सहभागिता जनाएका थिए। ती कार्यक्रममा नेपाल–मलेसिया श्रम सम्बन्ध, सुरक्षित वैदेशिक रोजगारी र कामदारको हितबारे छलफल भएको उनको सचिवालयले जनाएको छ।

सिंहको अनुपस्थितिमा प्रदेश सरकार सञ्चालनका लागि भौतिक पूर्वाधार विकास मन्त्री सारोजकुमार यादव कार्यवाहक मुख्यमन्त्री तोकिएका थिए। यसबीचमा प्रदेश सरकारले हैजा नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा चुनौती समाधान गर्ने तयारीलाई निरन्तरता दिएको सचिवालयले जनाएको छ।

चारदिने भ्रमणपछि फर्किएका मुख्यमन्त्री सिंहले प्राप्त अनुभव र सुझावलाई प्रदेश सरकारका नीति तथा कार्यक्रम निर्माणमा उपयोग गर्ने तयारी गरेको पनि सचिवालयको भनाइ छ।

सिंहलाई मलेसियाबाट विदाइ गर्न गैरआवासीय मधेशी संघ मलेसियाका अध्यक्ष महेश्वर यादव ‘निराला’ सहितका पदाधिकारीले मधेशको पहिचान झल्काउने गम्छा लगाइदिएका थिए। यादवले मुख्यमन्त्रीसँग बिताएका दिन सधैं स्मरण रहने उल्लेख गर्दै उनको भिजनले मधेसमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलवार २२:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !