पाँच सयमा शव फाल्न रिक्सा ल्याए, सडकमै छाडियो रुबीको शव

पाँच सयमा शव फाल्न रिक्सा ल्याए, सडकमै छाडियो रुबीको शव
अभिमनु पटेल अभिमनु पटेल २०८२ भाद्र ९, सोमबार २१:४०
पाँच सयमा शव फाल्न रिक्सा ल्याए, सडकमै छाडियो रुबीको शव

रौतहट : रौतहटको माधवनारायण नगरपालिका–६ माधोपरकी २६ वर्षीया रुबीकुमारी साहको शव सुटकेसमा प्याक गरी सडकमा फालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ई–रिक्साका चालकलाई पक्राउ गरेको छ।

शनिबार राति गौर नगरपालिका–९ मुडलवा गेटनजिक सडक किनारमा सुटकेस फेला परेको थियो। आइतबार बिहान स्थानीयको रोहबरमा खोल्दा सुटकेसभित्र रुबीको शव भेटिएको थियो।

ADVERTISEMENT

रौतहट प्रहरीले शव फाल्ने प्रयोजनका लागि ई–रिक्सा प्रयोग भएको र चालकलाई नियन्त्रणमा लिइसकेको जनाएको छ।

पाँच सयमा भाडा, बीचमै बिग्रिएको रिक्सा

प्रहरीका अनुसार शव फाल्ने उद्देश्यले गंगा पिप्रासम्म जाने भनेर आरोपितले गौरका राजकुमार महराको ई–रिक्सा पाँच सय रुपैयाँमा भाडामा लिएका थिए। तर बाटोमै रिक्सा बिग्रिएपछि सुटकेस त्यही छाडेर फरार भएको अनुसन्धानबाट खुलेको छ।

चालक महराले आफूलाई सुटकेसमा शव रहेको थाहा नभएको दाबी गरेका छन्। ‘के सामान हो थाहा थिएन, बीचमै रिक्सा बिग्रिएपछि उनीहरू फर्किए’, उनले प्रहरीलाई बयान दिएका छन्।

विदेशबाट ल्याएको सुटकेसमा शव

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार रुबीको हत्या गर्ने आरोपित लामो समयदेखि उनीसँग सम्पर्कमा रहेका थिए। ती व्यक्ति हालै मात्र वैदेशिक रोजगारीबाट फर्किएका थिए। विदेशबाट ल्याएको सुटकेसमै रुबीको शव प्याक गरेर फालेको तथ्य प्रहरीले पत्ता लगाएको छ।

‘हामी अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ। घटनामा संलग्नहरूको पहिचान भइसकेको छ’, प्रहरीले जनाएको छ।

हत्यापछि हराइन् रुबी

रुबी शनिबार साँझ गौर गएकी थिइन्। आमाका अनुसार उनले ‘केही सामान लिन जान्छु’ भनेर घरबाट निस्किएकी थिइन्। त्यसपछि उनले छोरालाई ‘जुस ल्याइदिन्छु’ भन्दै फोन गरेकी थिइन्। तर राति ढिलोसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा उनको मोबाइल उठेन। राति ९ बजेतिर मोबाइल स्विच अफ भएको थियो।

त्यसको केही समयमै गौरमा सुटकेस फेला परेको थियो। तर त्यसबेला स्थानीयले मात्रै देखेका थिए। प्रहरीलाई खबर गरे पनि सुटकेस भोलिपल्ट बिहान मात्रै खोलिएको थियो, जसमा रुबीको शव भेटियो।

पारिवारिक पृष्ठभूमि

रुबीको १३ वर्षअघि भारतको मुजफ्फरपुर निवासी शिवसागर सुडीसँग विवाह भएको थियो। केही महिना यता भने उनी आमासँगै डेरा लिएर बस्दै आएकी थिइन्। भारतमा घर नजिक विद्यालय नभएकाले छोरा पढाउनका लागि डेरामा बसेको परिवारले बताएको छ।

घटनापछि रुबीका श्रीमान् समेत प्रहरी सम्पर्कमा पुगेका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार २१:४०
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !