वीरगञ्ज महानगर प्रमुखको निर्देशन : महामारीमा संयमित भएर सेवा प्रवाह गर्न आग्रह

वीरगञ्ज महानगर प्रमुखको निर्देशन : महामारीमा संयमित भएर सेवा प्रवाह गर्न आग्रह
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार १५:१४
वीरगञ्ज महानगर प्रमुखको निर्देशन : महामारीमा संयमित भएर सेवा प्रवाह गर्न आग्रह

वीरगञ्ज : हैजाको प्रकोप फैलिने जोखिम बढिरहेको अवस्थामा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सम्पूर्ण कर्मचारीलाई सतर्क र संयमित भई सेवा प्रवाह गर्न निर्देशन दिएका छन्।

प्रमुख सिंहले हालको अवस्थालाई आत्तिनुपर्ने नभई संयम र धैर्यताका साथ सामूहिक प्रयासद्वारा नियन्त्रण गर्न सकिने भन्दै सबै पक्षलाई हातेमालो गर्न आग्रह गरे। उनले भने, ‘अहिलेसम्म डाई हाल्नुपर्ने अवस्था सिर्जना भएको छैन। महानगर हैजा नियन्त्रण उन्मुखमै छ र आवश्यक सबै उपायहरू अपनाइरहेका छौं।’

ADVERTISEMENT

उनले बिरामी भेटिनेबित्तिकै उपचारमा ढिलाइ हुन नदिने उद्देश्यले वीरगंजका सबै अस्पताललाई तत्कालै आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको जानकारी दिए।

यसै क्रममा महानगरले हैजाबाट प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीहरूको विशेष टोली परिचालन गरेको छ।

टोलीहरूले प्रभावित वडामा घरघर पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिने, संभावित संक्रमितको पहिचान गर्ने, आवश्यक परामर्श दिने र सरसफाइसम्बन्धी सचेतना फैलाउने कार्यलाई तीव्रता दिएका छन्।

महानगर प्रमुखले कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा सचेतनामूलक सन्देश फैलाउन, नागरिकलाई स्वच्छ पानी मात्र पिउन आग्रह गर्न, तरकारी तथा खाद्यपदार्थ राम्रोसँग धोएर पकाउन सुझाव दिन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आह्वान गरे।

त्यस्तै, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले पनि हैजा नियन्त्रणलाई प्राथमिकता दिँदै प्रशासनिक संयन्त्रलाई सक्रिय बनाउन निर्देशन दिए। उनले सबै कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्दै नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार १५:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !