रौतहटमा मानवसेवा आश्रम सञ्चालनमा

रौतहटमा मानवसेवा आश्रम सञ्चालनमा
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार ११:४५
रौतहटमा मानवसेवा आश्रम सञ्चालनमा

रौतहट : कुशे औंसीको अवसर पारेर रौतहटको चन्द्रपुर नगरपालिका–७ बनबहुअरीमा सडक आश्रित ‘बा’हरूका लागि मानवसेवा आश्रम सञ्चालनमा ल्याइएको छ। शनिबार सांसद देवप्रसाद तिमल्सिना र प्रमुख जिल्ला अधिकारी विनोद खड्कालगायतले सडक आश्रित ‘बा’हरूलाई आश्रममा प्रवेश गराउँदै सेवा शुभारम्भ गरेका हुन्।

सो अवसरमा सांसद तिमल्सिनाले आश्रमलाई आवश्यक पर्ने सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खड्का, गढीमाई नगरपालिकाका उपप्रमुख स्मिता यादव, गरुडा नगरपालिकाका प्रमुख कन्थमणि प्रसाद कलवार, जिल्ला समन्वय समिति रौतहटका प्रमुख रामअयोध्या यादव, पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की, चन्द्रपुर नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष उदयनारायण सापकोटा, निजानन्दधामका सन्त गुरु सुरेन्द्र दाहाल, एमाले नगर कमिटी अध्यक्ष शिव आचार्यलगायतले आश्रम सञ्चालनका लागि सहयोग गर्ने घोषणा गरेका थिए।

ADVERTISEMENT

आश्रम सञ्चालनका लागि नगद तथा जिन्सी गरी रु तीन लाख ३८ हजार १२५ बराबरको सहयोग संकलन भएको आश्रमका मधेस प्रदेश संयोजक विवेक महतोले जानकारी दिए। गरुडा नगरपालिकाका प्रमुख कलवारले नगरपालिकाको तर्फबाट रु दुई लाख ५१ हजार सहयोग गर्ने र पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्ण यादवले रु ५१ हजार बराबरको खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन्।

त्यसैगरी, कृष्ण प्रणामी युवा परिषद्ले रु ६० हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा, जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका स्ववियु सचिव साहिल पुरीले रु २० हजार, पशु चिकित्सक दुर्गाप्रसाद चिमोरियाले रु ११ हजार, प्रजापति पैडेलले रु ११ हजार १३०, विनोददास कथबनियाले रु १० हजार ५५५ र अर्पणा देवकोटाले रु १० हजार सहयोग गरेका छन्।

यस्तै, कृष्ण प्रणामी युवा परिषद् प्रारम्भिक समिति निजानन्दधाम र पत्रकार महासङ्घ रौतहट शाखाका अध्यक्ष कार्कीले पनि सहयोग गरेका थिए। हाल आश्रममा रौतहटका ६ र अन्य जिल्लाका १४ गरी २० जना सडक आश्रित बसोबास गरिरहेका छन्।

संयोजक महतोका अनुसार आश्रमले बास र खानाको सुविधा मात्र नभई सीप, दक्षता र क्षमता विकासमार्फत आश्रितलाई समाजमा पुनःस्थापित गर्ने उद्देश्य लिएको छ। यही भदौ ५ गतेदेखि सुरु गरिएको उद्धार अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि चन्द्रपुर–१, बागमती मङ्गलपुरसम्मका ६ जना सडक मानवलाई उद्धार गरी आश्रममा ल्याइएको छ।

महतोले २०८२ सालभित्र रौतहटलाई सडक मानवरहित बनाउन लक्ष्य लिएको बताए।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार ११:४५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !