सहिद चन्देश्वर मण्डल स्मृति सभा : ‘संघीयता र गणतन्त्र सहिदकै योगदान’

सहिद चन्देश्वर मण्डल स्मृति सभा : ‘संघीयता र गणतन्त्र सहिदकै योगदान’
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २, सोमबार ०९:१३
सहिद चन्देश्वर मण्डल स्मृति सभा : ‘संघीयता र गणतन्त्र सहिदकै योगदान’

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले देश परिवर्तन र गणतन्त्र स्थापनामा मिथिला विहारीका सहिदहरूको विशेष योगदान रहेको बताएकी छन् ।

धनुषाको मिथिला विहारी नगरपालिका–३ स्थित मिथिलेश्वर मौवाहीमा आयोजित सहिद चन्देश्वर मण्डलको २०औँ स्मृति सभामा आइतबार सम्बोधन गर्दै उनले वर्तमान सरकार भ्रष्टाचार प्रवर्द्धन गर्ने दिशामा लागेको आरोप लगाइन् ।

ADVERTISEMENT

उनले भनिन्, “देशका १० हजारभन्दा धेरै जनताको सहादतले संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव भएको हो। चन्देश्वर मण्डलजस्ता सहिदलाई हामीले कहिल्यै भुल्न मिल्दैन। जन्म–मृत्यु त एक दिन हुन्छ नै तर समाज परिवर्तनका लागि दिएको बलिदान अमूल्य हुन्छ।”

भुसालले भूमि सम्बन्धी कानुन, निजामति ऐन, शिक्षा विधेयकलगायतका विषयमा सरकारले लिएको नीति संघीयता र समावेशी लोकतन्त्र कमजोर बनाउने खालको रहेको टिप्पणी गरिन् । संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउनमा सरकार उदासीन रहेको भन्दै उनले संविधानको मर्म विपरीत निर्णय भइरहेको आरोप लगाइन् ।

उनले थपिन्, “अहिले जनताका छोराछोरीहरू नै देशको प्रमुख पदमा पुग्न सफल भएका छन्, यो परिवर्तन सहिदहरूले देखेको सपनाको परिणाम हो। तर अझै धेरै काम गर्न बाँकी छ। भ्रष्टाचार अन्त्य, सामाजिक न्याय र समानताको पक्षमा हामीले निरन्तर संघर्ष गर्नुपर्छ।”

उनका अनुसार नेकपा एकीकृत समाजवादी, विप्लव समूह, जनता समाजवादी पार्टीलगायतसँग पार्टी एकीकरणबारे सकारात्मक वार्ता अगाडि बढिरहेको छ ।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय उप महासचिव एवं मधेस प्रदेश इन्चार्ज मातृकाप्रसाद यादव, केन्द्रीय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज श्रावण बरवरिया यादव, जिल्ला संयोजक दिपक यादव,उदय बरबरिया यादव, सुनिल यादव, रोशन यादव, देवसागर दास, जनसांस्कृतिक महासंघ मधेस प्रदेश संयोजक राजेश सक्सेना लगायत नेताहरुको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता नगर कमिटी अध्यक्ष प्रदीप साहले गरे भने सञ्चालन नगर कमिटी सचिव एवं वडा नम्बर ७ का वडाध्यक्ष संजय शर्माले गरे। स्वागत मन्तव्य मेयर प्रत्यासी सूर्यनारायणले दिएका थिए।

स्मृति सभाको अवसरमा मिथिला विहारी नगरभित्रका जनयुद्धका सहिद परिवारलाई सम्मान गरिएको थियो । त्यस्तै आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि मातृकाप्रसाद यादवले सहिदहरूको बलिदानबाट प्रेरणा लिनुपर्ने बताउँदै पार्टीभित्रको गुटबन्दी र कमजोरीप्रति चिन्ता व्यक्त गरे । अन्य नेताहरूले सहिद चन्देश्वर मण्डलको योगदान स्मरण गर्दै उनको सपना पूरा गर्न दल र जनताबीच एकता अपरिहार्य रहेको धारणा राखे ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार ०९:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !