चाडपर्वमा पनि वन संरक्षणलाई प्राथमिकता : मन्त्री यादवद्वारा विशेष गस्तीको निर्देशन

चाडपर्वमा पनि वन संरक्षणलाई प्राथमिकता : मन्त्री यादवद्वारा विशेष गस्तीको निर्देशन
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ३१, शनिबार १८:४३
चाडपर्वमा पनि वन संरक्षणलाई प्राथमिकता : मन्त्री यादवद्वारा विशेष गस्तीको निर्देशन

जनकपुरधाम : मधेश प्रदेशका वन तथा वातावरण मन्त्री संजय कुमार यादवले चाडपर्वलाई उल्लासपूर्ण तरिकाले मनाउँदै वन संरक्षणलाई पनि प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

पर्वको समयमा धेरै कर्मचारी बिदामा रहने भएकाले वनजन्य चोरी निकासी र अवैध गतिविधि बढ्ने सम्भावना हुने भन्दै उनले विशेष गस्ती बढाउन सम्बद्ध निकायलाई स्पष्ट निर्देशन दिएका हुन्।

ADVERTISEMENT

मन्त्री यादवले स्थानीय समुदाय, डिभिजन वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूह र सुरक्षाकर्मीबीच अझ मजबुत सहकार्य आवश्यक रहेको उल्लेख गर्दै भने, “वन हाम्रो साझा सम्पत्ति हो। यसलाई जोगाउनु सबैको जिम्मेवारी हो। पर्वमा रमाइलो गर्दै पनि प्रकृतिप्रतिको कर्तव्य पूरा गर्नुपर्छ।”

वन मन्त्रालयका अनुसार प्रदेशभरका संवेदनशील वन क्षेत्रमा विशेष गस्ती टोली परिचालन गर्ने तयारी भइरहेको छ। यस कदमले वनजन्य चोरी निकासी नियन्त्रणमा मात्र नभई जैविक विविधता संरक्षण र दिगो वन व्यवस्थापनमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ।

मन्त्रालयले चाडपर्व वा विशेष अवसरमै सचेत कदम चाल्दा दीर्घकालीन रूपमा वन अपराध नियन्त्रण र स्रोत संरक्षण सम्भव हुने भन्दै यसले वन मन्त्रालयप्रतिको जनविश्वास बढाउने र प्रदेशलाई हरियाली, सुरक्षित र दिगो विकासतर्फ उन्मुख गराउने अपेक्षा गरेको छ।

प्रकाशित मिति: २०८२ श्रावण ३१, शनिबार १८:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !