जनकपुरमा अप्रेसनपछि ३ घण्टामै सुत्केरीको मृत्यु, परिवारको चिकित्सक लापरबाहीको आरोप

जनकपुरमा अप्रेसनपछि ३ घण्टामै सुत्केरीको मृत्यु, परिवारको चिकित्सक लापरबाहीको आरोप
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २९, बिहीबार १६:५९
जनकपुरमा अप्रेसनपछि ३ घण्टामै सुत्केरीको मृत्यु, परिवारको चिकित्सक लापरबाहीको आरोप

जनकपुरधाम : जनकपुरस्थित प्रादेशिक अस्पतालमा बच्चा जन्माएको केही घण्टामै एक सुत्केरीको मृत्यु भएको छ । अप्रेसनबाट बच्चा जन्माएकी सिराहाको कल्याणपुर नगरपालिका वडा नम्बर–१ सनचिरैया निवासी अर्चना कुमार मण्डलको बुधवार राति मृत्यु भएको हो ।

करारमा नियुक्त चिकित्सकको लापरबाहीका कारण बच्चा जन्मेको ३ घण्टामै आमा मण्डलको मृत्यु भएको परिवारजनको आरोप छ।

ADVERTISEMENT

मृतक मण्डलका श्रीमान् दीपेन्द्र मण्डलले अस्पतालको लापरबाहीका कारण श्रीमतीको ज्यान गएको गुनासो गरे । उनले भने, ‘बच्चा जन्मिने समय पूरा भएर बढी भइसकेपछि हामीले अस्पताल भर्ना ग¥यौं, त्यसपछि चिकित्सकको सुझाव अनुसार अप्रेसन गरायौँ । अप्रेसन गर्दा छोरी पनि जन्मियो, तर त्यसको केही घण्टामै श्रीमती गुमाउनु प¥यो ।’

तर प्रादेशिक अस्पताल जनकपुरले भने चिकित्सकको लापरबाहीले नभई श्वासप्रश्वास समस्याका कारण महिलाको ज्यान गएको दाबी गरेको छ ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट जामुन प्रसाद सिंहले महिलाको श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएको बताए ।

यसैबीच पीडित पक्षको मागअनुसार जनकपुर प्रहरीको सक्रियतामा छानबिन समिति गठन गरिएको छ । परिवारजनले पोस्टमार्टम गर्न नमानेपछि प्रहरीले प्रादेशिक अस्पतालका मेसु सिंहको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको हो ।

छानबिन टोलीमा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, मृतक परिवारका तर्फबाट २ जना प्रतिनिधि र एक विज्ञ राख्ने सहमति भएको प्रादेशिक अस्पताल जनकपुरका मेसु सिंहले बताए ।

यससँगै अहिले मृतक महिलाको पोस्टमार्टमको कार्य अगाडि बढाइएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: २०८२ श्रावण २९, बिहीबार १६:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !