विकास, समानता र अधिकारका लागि संघर्ष आवश्यकः उपेन्द्र यादव

विकास, समानता र अधिकारका लागि संघर्ष आवश्यकः उपेन्द्र यादव
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २८, बुधबार २२:३२
विकास, समानता र अधिकारका लागि संघर्ष आवश्यकः उपेन्द्र यादव

राजविराज : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारको भ्रष्ट र गैर–जिम्मेवार कार्यशैलीका कारण जनतामा निराशा र आक्रोश बढ्दो अवस्थामा रहेको बताएका छन्। उनले यस्तो अवस्था जारी रहे कुनै पनि बेला जनविद्रोह हुने खतरा बढेको चेतावनी दिए।

जसपा सप्तरीको नवनिर्वाचित जिल्ला कार्यसमितिको शपथ–ग्रहण तथा पदभार ग्रहण कार्यक्रममा बुधबार सम्बोधन गर्दै अध्यक्ष यादवले सरकारले भ्रष्टाचार, कुशासन र विभेदलाई चरम सीमा पुर्‍याएको आरोप लगाए।

ADVERTISEMENT

उनले भने, “वर्तमान सरकारले एकल जातीय वर्चस्व कायम गरेर तानाशाही प्रवृत्ति देखाएको छ। जनतामा व्यापक निराशा छ, त्यसैले कुनै पनि बेला विद्रोह भड्किन सक्छ।”

देश आर्थिक रूपमा अविकसित, पछाडि परेको र वैदेशिक ऋणमा निर्भर राष्ट्रको सूचीमा रहेको उल्लेख गर्दै यादवले सरकारले देशलाई उल्टो दिशातर्फ डोरेको दाबी गरे। उनले लोकतन्त्रमा जनसंख्याको आधारमा प्रतिनिधित्व र बजेट विनियोजन हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय सभामा मधेशको प्रतिनिधित्व केवल ६ जनामा सीमित भएको उदाहरण प्रस्तुत गरे।

“रणनीतिअन्तर्गत मधेशलाई टुक्राटुक्रा पारिएको छ, जबकि स्वायत्त मधेशको प्रावधान संविधानमै उल्लेख छ,” यादवले भने।

परिवर्तनका लागि संघर्ष अपरिहार्य भएको बताउँदै उनले पार्टीका नेता–कार्यकर्तालाई संगठन सुदृढ गर्दै सामाजिक न्याय र अधिकारका लागि निरन्तर संघर्ष गर्न निर्देशन दिए। विकास, समानता र अधिकारको लडाइँसँगै पार्टीलाई वडा, टोल र बस्तीस्तरमा संगठित बनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: २०८२ श्रावण २८, बुधबार २२:३२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !