सिमावर्ती प्रहरी चौकीमा जनशक्ति नहुँदा तस्करी मौलायो : प्रदेश सांसद साह

सिमावर्ती प्रहरी चौकीमा जनशक्ति नहुँदा तस्करी मौलायो : प्रदेश सांसद साह
मधेशपत्र मधेशपत्र २०८२ श्रावण २२, बिहीबार १४:३३
सिमावर्ती प्रहरी चौकीमा जनशक्ति नहुँदा तस्करी मौलायो : प्रदेश सांसद साह

सप्तरी : जनमत पार्टीका मधेश प्रदेशसभा सदस्य शम्भु साहले सप्तरीका सिमावर्ती प्रहरी चौकीहरूमा पर्याप्त जनशक्ति र साधन स्रोत नहुँदा तस्करी मौलाउँदै गएको आरोप लगाएका छन्। उनले तस्करी स्वयं संगठित ढंगबाट भइरहेको दाबी गर्दै त्यसलाई रोक्न सरकारसँग माग गरेका छन्।

सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा दुई दिनअघि प्रहरीको गोली लागेर स्थानीय बासिन्दा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालु यादवको ज्यान गएको घटनापछि सांसद साहले सिमावर्ती सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका हुन्।

ADVERTISEMENT

‘राजगढ गोलीकाण्डको छानबिन होस्, दोषी कारबाहीमा परोस्’

“तरही, झुटकी, पातो लगायतका प्रहरी चौकीमा दरबन्दीअनुसारको प्रहरी जनशक्ति छैन,” साहले भने, “उपरान्त तस्करी नियन्त्रण गर्नुपर्ने प्रहरी स्वयं साधन स्रोतबाट वञ्चित छन्। सबै संयन्त्र सदरमुकाम केन्द्रित हुँदा सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण बाहिर गएको छ।”

उनका अनुसार प्रहरीले जनताको सुरक्षाका लागि काम गर्नु पर्नेमा तस्करीजस्ता आपराधिक गतिविधिमा संगठित ढंगबाट संलग्न हुँदै जानु चिन्ताजनक छ। उनले तस्करीमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन्।

राजगढ घटनाबारे उनले गम्भीर छानबिनको माग गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्। “निष्पक्ष छानबिन होस्, निर्दोषमाथि बल प्रयोग नहोस् र दोषी जोगिने अवस्था बन्न नदिन सरकार संवेदनशील बनोस्,” सांसद साहले भने।

साथै उनले सिमावर्ती क्षेत्रका प्रहरी चौकीहरूमा तत्काल दरबन्दीअनुसार प्रहरी परिचालन गर्न र पर्याप्त साधन स्रोत उपलब्ध गराउनुपर्ने माग गरेका छन्। “जनताको सुरक्षाका लागि प्रभावकारी प्रहरी व्यवस्थापन आवश्यक छ,” उनले भने, “त्यस बिना सीमाक्षेत्रमा अमनचयन सम्भव छैन।”

प्रकाशित मिति: २०८२ श्रावण २२, बिहीबार १४:३३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !