सिरहाको मैनावती खोलाको पुल बाढीले भासियो, आवतजावत पूर्ण रूपमा अवरुद्ध

सिरहाको मैनावती खोलाको पुल बाढीले भासियो, आवतजावत पूर्ण रूपमा अवरुद्ध
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १९, सोमबार २२:०८
सिरहाको मैनावती खोलाको पुल बाढीले भासियो, आवतजावत पूर्ण रूपमा अवरुद्ध

सिरहा : सिरहा जिल्लाको मिर्चैया नगरपालिका–२ मल्हनियाँ पिराडी र वडा नं १२ सिक्रौन गाउँलाई जोड्ने मैनावती खोलाको पुल आज बिहान बाढीले भासिएपछि स्थानीय आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।

पुल भासिएसँगै सिक्रौन, निर्दना, भेडिया लगायतका गाउँहरूबाट मिर्चैया बजार आउजाउ गर्न समस्या भएको छ। स्थानीय बासिन्दाहरूका अनुसार खोलाबाट अनियन्त्रित रूपमा बालुवा र माटोको उत्खनन गरिँदै आएकाले पुलको संरचना कमजोर भएको थियो।

ADVERTISEMENT

वडा नं १२ का वडाध्यक्ष मनेलाल यादवले भने, “स्थानीयले पटक–पटक विरोध गर्दा पनि सम्बन्धित निकायले बेवास्ता गरे। खोलाबाट जथाभावी बालुवा र माटो निकाल्दा आज यस्तो अवस्था आयो।”

करिब १५ वर्षअघि गरिबी निवारण कार्यक्रमअन्तर्गत निर्माण गरिएको उक्त पुल खोलाको आसपासबाट जेसिबी प्रयोग गरी माटो उत्खनन गरिएकै कारण जोखिममा परेको स्थानीयहरूको भनाइ छ। उनीहरूले पटक–पटक नगरपालिका र सरोकारवाला निकायलाई गुनासो गरे पनि कुनै चासो नदिएको गुनासो गरेका छन्।

पुल भासिएपछि अहिले उक्त क्षेत्रका बासिन्दाहरू वैकल्पिक बाटोको खोजीमा छन्। स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै नागरिकहरूले तत्कालीन राहत र दीर्घकालीन समाधानको माग गरेका छन्।

प्रकाशित मिति: २०८२ श्रावण १९, सोमबार २२:०८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !