जनमत पार्टीमा व्यवसायीहरूको आकर्षण बढ्दो, नयाँ अनुहारको प्रवेश

जनमत पार्टीमा व्यवसायीहरूको आकर्षण बढ्दो, नयाँ अनुहारको प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ११, आईतवार १८:१७
जनमत पार्टीमा व्यवसायीहरूको आकर्षण बढ्दो, नयाँ अनुहारको प्रवेश

काठमाडौं : विभिन्न क्षेत्रका व्यवसायीहरू औपचारिक रूपमा जनमत पार्टीमा आबद्ध भएका छन्। काठमाडौंको मध्यबानेश्वरस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनीहरूलाई पार्टी प्रवेश गराइएको हो।

पार्टीमा प्रवेश गर्नेहरूमा काठमाडौं–३१ का राजकुमार हुमागाई, गोकर्णेश्वर–३ का कुमार भण्डारी, मोरङको लेटाङ–६ का विवेक ठकुरी, काठमाडौं–८ का बटुक मिश्र, काठमाडौं–१३ की सुजा तुलाधर र काठमाडौं–६ का संगम शर्मा रहेका छन्। सबै जना व्यापार तथा व्यवसायमा सक्रिय छन्।

ADVERTISEMENT

उनीहरूलाई पार्टीको औपचारिक सदस्यता जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रदान गरे। राउतले नवप्रवेशीहरुलाई स्वागत गर्दै नयाँ सदस्यहरूप्रति आभार प्रकट गरे।

अध्यक्ष राउतले व्यवसायी वर्गको पार्टीमा प्रवेशलाई ‘सङ्गठन विस्तारको सकारात्मक संकेत’ भन्दै पार्टीको आर्थिक रूपान्तरणको अभियानमा महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे। “जनमत पार्टी सबै वर्ग, क्षेत्र र पेसामा आवद्ध व्यक्तिहरूको साझा मंच हो,” उनले भने, “त्यसैले विविध पृष्ठभूमिका मानिसहरूको सहभागिता हामीले स्वागत गर्छौं।”

पार्टी प्रवेश गरेका व्यवसायीहरूले जनमत पार्टीको विचार, कार्यदिशा र मुल्यतासँग सहमत भएर पार्टीमा आबद्ध भएको बताएका छन्। उनीहरूले संगठन सुदृढ गर्न र जनताको हितमा काम गर्न आफूहरू कटिबद्ध रहेको बताए।

“जनमत पार्टीले देशमा वैकल्पिक राजनीतिक संस्कारको सुरुआत गरेको छ,” सहभागीमध्ये एकले भने, “हामी व्यवसायीको हैसियतले समाज र मुलुकका लागि सकरात्मक योगदान दिन जनमतमार्फत अघि बढ्नेछौं।”

पछिल्लो समय जनमत पार्टीले पेशागत समूह, युवा, महिला तथा व्यवसायी वर्गलाई संगठनमा आबद्ध गराउने अभियान तीव्र बनाउँदै आएको छ। पार्टी नेतृत्वले यसलाई समाजका सबै तह र तप्काको प्रतिनिधित्व गराउने रणनीतिक पहलको रूपमा लिएको बताइएको छ।

प्रकाशित मिति: २०८२ श्रावण ११, आईतवार १८:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !