‘०८४ को होइन, पूर्ण अधिकार प्राप्तिको क्रान्तिको तयारीमा छौं’ : डा.सीके राउत

‘०८४ को होइन, पूर्ण अधिकार प्राप्तिको क्रान्तिको तयारीमा छौं’ : डा.सीके राउत
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ५, सोमबार १८:२६
‘०८४ को होइन, पूर्ण अधिकार प्राप्तिको क्रान्तिको तयारीमा छौं’ : डा.सीके राउत

कलैया : जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले आफूहरू २०८४ सालको निर्वाचनको तयारीमा नभई पूर्ण अधिकार प्राप्तिको क्रान्ति को तयारीमा रहेको बताएका छन्।

सोमबार बारा जिल्लाको कलैयामा आयोजित पार्टी प्रवेश तथा सभा कार्यक्रममा बोल्दै उनले अधिकार प्राप्तिको क्रान्तिका लागि कार्यकर्तालाई तयार रहन आग्रह गरे।

ADVERTISEMENT

“अरू ०८४ को चुनावको तयारी गर्दैछन्, तर हामी ०८४ को होइन, पूर्ण अधिकार प्राप्तिको क्रान्तिरूपी युद्धको तयारीमा छौं,” डा. राउतले भने, “पूर्ण अधिकार प्राप्त नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ।”

उनले संघीयता आए पनि प्रदेश सरकारलाई अधिकारविहीन बनाउने काम सिंहदरबारबाट भइरहेको आरोप लगाए। “प्रदेशलाई अधिकार नदिई संघीयता नाम मात्रको बनाइएको छ,” उनले भने, “प्रदेश सरकारलाई कमजोर देखाएर बदनाम गर्ने प्रयास भइरहेको छ।”

डा. राउतले जनमत पार्टीको मूल एजेन्डा नागरिकलाई पूर्ण अधिकार दिलाउनु रहेको बताए।

मुख्यमन्त्री सिंह : अफवाह फैलाउनेहरू अझै सक्रिय

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारे।

“जनमतको नेतृत्वमा सरकार बनेदेखि नै आज ढल्छ, भोली ढल्छ भन्ने अफवाह फैलाउनेहरू सक्रिय छन्,” उनले भने, “तर जनताको पक्षमा काम गर्दै सरकारले १३ महिना पार गरिसकेको छ।”

मुख्यमन्त्री सिंहले जनताको हितमा काम गर्न पाउँदा कुर्सीमा बस्ने र आवश्यक परे खुशीसाथ छोड्न तयार रहेको बताए। “सरकारको कामप्रति केही समूह असहज महसुस गर्न थालेपछि भ्रम फैलाउनेमा लागेका छन्,” उनले टिप्पणी गरे।

कार्यक्रममा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री वसन्त कुशवाहा, वन तथा वातावरण मन्त्री संजयकुमार यादव लगायत जनमत पार्टीका नेताहरूले सम्बोधन गरेका थिए।

जसपाबाट एकैपटक ५ सयजनाको प्रवेश

कार्यक्रममा जसपाका पूर्व संविधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस प्रसाद साहसहित करिब ५ सय कार्यकर्ताले जसपा परित्याग गरी जनमत पार्टीमा प्रवेश गरे।

नवप्रवेशीहरूलाई डा. राउत, मुख्यमन्त्री सिंह, मन्त्रीद्वय कुशवाहा र यादवले टीका र गम्छा लगाएर स्वागत गरेका थिए।

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १८:२६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !