धनुषामा मलखाद्य लिन गएका किसानमाथि कुटपिट, वडाध्यक्षविरुद्ध प्रदर्शन र कारबाहीको माग

धनुषामा मलखाद्य लिन गएका किसानमाथि कुटपिट, वडाध्यक्षविरुद्ध प्रदर्शन र कारबाहीको माग
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार २३:११
धनुषामा मलखाद्य लिन गएका किसानमाथि कुटपिट, वडाध्यक्षविरुद्ध प्रदर्शन र कारबाहीको माग

जनकपुरधाम : धनुषा जिल्लाको सहिदनगर नगरपालिका–२ मा मल लिन गएका किसानमाथि भएको कुटपिट घटनाले स्थानीय तहमा जनप्रतिनिधिको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।

शनिबार मल वितरणका क्रममा सर्वसाधारण किसानलाई बेवास्ता गर्दै केही व्यक्तिलाई प्राथमिकता दिइएपछि विवाद सुरु भएको थियो। विवाद चर्किएपछि नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष सतेन्द्र चौरवार यादवले आफ्ना निकटका व्यक्तिलाई मल वितरण गर्दै गर्दा अन्य किसानहरूमाथि हातपात गरेको स्थानीयको आरोप छ।

ADVERTISEMENT

पीडित किसानहरूका अनुसार लामो समयदेखि लाइनमा रहेका उनीहरूलाई पन्छाउँदै सीमित व्यक्तिलाई मल वितरण गरिएको थियो। जब यसबारे प्रश्न उठाइयो, उल्टै वडाध्यक्षले कुटपिट गरेका थिए।

घटनापछि वडाध्यक्षको चर्को आलोचना भइरहेको छ। आइतबार स्थानीय युवाहरूले वडा कार्यालयको परिसरमा विरोध प्रदर्शन गर्दै तालाबन्दी समेत गरेका छन्। प्रदर्शनमा सहभागी मकेश्वर यादवले भने, “वडाध्यक्षले व्यक्तिगत हितका लागि पदको दुरुपयोग गरेका छन्। यस्ता गलत गतिविधि अब सह्य हुँदैनन्।”

आन्दोलनकारीहरूले गत आर्थिक वर्ष २०८१/०८२ को वडाको वार्षिक खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन्। साथै, वडाध्यक्षको मनमानीका कारण हाल मल वितरणका लागि डिलरले काम गर्न नपाएको भन्दै कानुनी रूपमा डिलर स्थापना गरी किसानलाई समयमै मल उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।

एक स्थानीय अगुवाले भने, “वडाध्यक्ष कुनै पार्टी विशेषका होइनन्, उनी सम्पूर्ण वडावासीका प्रतिनिधि हुन्। किसानमाथिको हातपात गैरकानुनी र अमानवीय हो। दोषीलाई कानुनी दायरामा ल्याइनुपर्छ।”

स्थानीयवासीले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही र पीडित किसानलाई क्षतिपूर्ति दिन प्रशासनसँग माग गरेका छन्।

ईलाका प्रहरी कार्यालय यदुकुहाका एक अधिकारीले घटनाको प्रारम्भिक जानकारी आएको र अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार २३:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !