उच्च अदालत जनकपुरमा १८ महिनाभन्दा पुराना सबै मुद्दा फर्स्याेट

उच्च अदालत जनकपुरमा १८ महिनाभन्दा पुराना सबै मुद्दा फर्स्याेट
मधेशपत्र मधेशपत्र २०८२ श्रावण १, बिहीबार १८:०४
उच्च अदालत जनकपुरमा १८ महिनाभन्दा पुराना सबै मुद्दा फर्स्याेट

जनकपुरधाम : उच्च अदालत जनकपुरले १८ महिनाभन्दा पुराना सबै मुद्दा फर्स्याेट (फैसला) गरेको जनाएको छ। बिहीबार पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा अदालतले आर्थिक वर्ष २०८१/८२ को कार्य सम्पादन विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

कार्यवाहक मुख्य न्यायाधीश महेन्द्रनाथ उपाध्यायका अनुसार १८ महिनाभन्दा पुराना कुनै पनि मुद्दा उच्च अदालतमा बाँकी नरहेको छ। उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९ वटा यस्ता पुराना मुद्दा थिए भने २०८१/८२ मा त्यो संख्या शून्यमा झरेको हो। ‘एक वर्षभन्दा पुराना ११२ मुद्दा मात्रै बाँकी छन्,’ उपाध्यायले भने, ‘ती पनि प्राविधिक कारणले फर्स्याेट हुन सकेनन्।’

ADVERTISEMENT

उपाध्यायका अनुसार अदालतमा १२ जना न्यायाधीशको दरबन्दी रहेको भए पनि पुस महिनादेखि ९ जना मात्रै कार्यरत छन्। ‘न्यायाधीशको अभावका कारण ४ वटा इजलाश मात्र सञ्चालन भइरहेको छ,’ उनले भने।

गत आवमा उच्च अदालतमा २ हजार १३६ वटा मुद्दा जिम्मेवारी सरेर आएका थिए भने ४ हजार ५४२ नयाँ मुद्दा दर्ता भएका थिए। योसँगै कुल ६ हजार ६७८ मुद्दा रहेकोमा ४ हजार ४११ मुद्दाको फर्स्याेट भएको छ। बाँकी २ हजार २६७ मुद्दा चालु आव २०८२/८३ मा सारिएका छन्।

उच्च अदालतले गत आवमा ६५ प्रतिशत मुद्दा फर्स्याेट गर्ने लक्ष्य राखेकोमा ६६.०५ प्रतिशत मुद्दा फर्स्याेट गर्न सफल भएको जनाएको छ।

अदालतको तथ्यांकअनुसार पुनरावेदन दुनियावादी देवानीतर्फ १ हजार १६७ नयाँ मुद्दा र ६९८ जिम्मेवारी सरेर आएका मुद्दा गरी १ हजार ८६५ मध्ये १ हजार १३७ मुद्दा फर्स्याेट भएका छन्। यस्तै, फौजदारीतर्फ १ हजार १४५ नयाँ मुद्दा र ४६२ सरेर आएका गरी १ हजार ६०७ मध्ये १ हजार ३ मुद्दा फर्स्याेट भएका छन्।

यसैगरी, रिट मुद्दा ९२१ मध्ये ६६६ वटा फर्स्याेट भएका छन् भने निषेधाज्ञासम्बन्धी १ हजार ६१२ मध्ये १ हजार २३९ मुद्दा फर्स्याेट भएका छन्। बाँकी मुद्दाहरू चालु आर्थिक वर्षमा सारिएको अदालतले जनाएको छ।

कार्यक्रममा अदालतको कार्यसम्पादन, मुद्दा व्यवस्थापन र न्यायाधीशको अभाव लगायतका विषयमा सञ्चारकर्मीहरूसँग छलफल गरिएको थियो।

 

प्रकाशित मिति: २०८२ श्रावण १, बिहीबार १८:०४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !