जनमत पार्टीका निलम्बित नेताहरुमाथि बारामा कालोमोसो

जनमत पार्टीका निलम्बित नेताहरुमाथि बारामा कालोमोसो
मधेशपत्र मधेशपत्र २०८२ असार २९, आईतवार १९:३८
जनमत पार्टीका निलम्बित नेताहरुमाथि बारामा कालोमोसो

बारा : जनमत पार्टीका निलम्बित राष्ट्रिय उपाध्यक्ष इन्जिनियर दीपक कुमार साह, निलम्बित कोषाध्यक्ष सुरेन्द्र यादव र केन्द्रीय सदस्य वीरेन्द्र साह सुनारमाथि आइतबार कालोमोसो दलिएको छ।

जनमत पार्टी नेतृत्वको आलोचना गर्दै ‘जनसंवाद यात्रा’ सुरु गरेका ती नेतामाथि बारा जिल्लाको महागढीमाई नगरपालिका–३, दहियारमा कालोमोसो दलिएको हो। आइतबार बिहानको समयमा कार्यकर्तासहित खाना खाएर कार्यक्रमस्थलतर्फ जाँदै गर्दा गाडीमै रहेको अवस्थामा उनीहरूलाई कालोमोसो प्रहार गरिएको थियो।

ADVERTISEMENT

घटनापछि जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टीको आधिकारिक हैसियतबाट उक्त कार्यको समर्थन नभए पनि अध्यक्ष र पार्टीविरुद्ध भइरहेका गतिविधिको प्रतिरोधको रूपमा कार्यकर्ताबाट प्रतिक्रिया आएको टिप्पणी गरे। “यस्तो गतिविधिलाई पार्टीले समर्थन त गर्दैन,” उनले भने, “तर अध्यक्ष र पार्टीविरुद्ध भइरहेका गलत कार्यको प्रतिकारस्वरूप कार्यकर्ताले प्रतिक्रिया जनाएका हुन सक्छन्।”

यसअघि उपाध्यक्षमा जयकान्त यादवलाई मनोनयन गर्ने पार्टी निर्णयको विरोधमा उत्रिएका नेताहरूमाथि पार्टीले अनुशासनको कारबाही गरेको थियो। त्यसैअनुसार केन्द्रीय सदस्य वीरेन्द्र साह सुनार र कार्यकारिणी समिति सदस्य शम्भुनाथ साह कारबाहीमा परेका थिए। उनीहरूले जयकान्तलाई उपाध्यक्ष बनाउने निर्णयको खुलेर विरोध गरेका थिए।

निलम्बित भएका नेताहरू पछिल्लो समय एकै मोर्चामा गोलबन्द हुँदै आएका छन्। साह, यादव र सुनार नेतृत्वमा ‘जनसंवाद यात्रा’ सुरु गरिएको छ। उनीहरूले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै त्यसको पुनःस्थापनाका लागि अभियान थालेको दाबी गरेका छन्।

तर प्रवक्ता यादवले निलम्बित पदाधिकारीहरूले ‘जनसंवाद यात्रा’को नाममा पार्टीमाथि रिस पोखेको आरोप लगाए। “उहाँहरू निलम्बित हुनुहुन्छ, पार्टीबाट निष्कासन भएको भने होइन,” उनले भने, “कारबाहीमा परेको रिस पार्टीमाथि पोखिरहनुभएको छ, यो कुनै जनसंवाद यात्रा होइन।”

जनमत पार्टीको भित्रि विवाद खुलस्त बन्दै गएको छ। पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै निलम्बित नेताहरू जनस्तरसम्म पुग्न खोजिरहेका बेला भएको कालोमोसो घटनाले विवाद झनै चर्किएको छ।

 

प्रकाशित मिति: २०८२ असार २९, आईतवार १९:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !