अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि तीन तहकै सरकार सक्रिय हुनुपर्छ : मुख्यमन्त्री सिंह

अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि तीन तहकै सरकार सक्रिय हुनुपर्छ : मुख्यमन्त्री सिंह
मधेशपत्र मधेशपत्र २०८२ असार २५, बुधबार २१:४३
अपाङ्गता भएका व्यक्तिको जीविकोपार्जनका लागि तीन तहकै सरकार सक्रिय हुनुपर्छ : मुख्यमन्त्री सिंह

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूको जीविकोपार्जन सहज बनाउन संघ, प्रदेश र स्थानीय तहका सरकारहरू एकसाथ लाग्नुपर्ने बताएका छन्।

अस्ट्रेलियन एड र सीबीएम ग्लोबलको सहयोगमा लाइफ नेपालले जनकपुरधाममा बुधबार आयोजना गरेको ‘अपाङ्गता, जलवायु परिवर्तन र जीविकोपार्जन सम्मेलन २०८२’ को उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले अपाङ्गता भएका व्यक्तिहरूले अझै पनि जीवनयापनमा गम्भीर समस्या झेलिरहेको बताए। “तीनवटै तहका सरकार मिलेर काम गरे मात्रै यस्ता चुनौती समाधान हुनसक्छन्,” उनले भने।

ADVERTISEMENT

मुख्यमन्त्री सिंहले फरक क्षमता भएका व्यक्तिहरूको सीप, दक्षता र क्षमताअनुसार तालिम दिइनुपर्ने धारणा राखे। उनले भने, “हामीले सीप विकास र रोजगार सिर्जना गर्ने खालका कार्यक्रमहरू ल्याउनुपर्छ। प्रदेश सरकारले यसलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।”

उनले जलवायु परिवर्तनको प्रतिकूल असर अपाङ्गता भएका व्यक्तिमा अझ गहिरो रूपमा देखिन सक्ने भन्दै राज्यको लगानी कुन क्षेत्रमा केन्द्रित गर्ने भन्नेबारे स्पष्ट नीति चाहिने उल्लेख गरे।

सिंहले मधेश प्रदेशमा शिक्षाको अवस्था कमजोर रहेको र त्यसको संकेत एसईई नतिजाले देखाइसकेको भन्दै सुधारको थालनी सुरुकै कक्षाबाट हुनुपर्ने धारणा पनि राखे। “अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै विद्यालय स्थापना गर्नुपर्ने आवश्यकता महसुस भएको छ,” उनले भने, “यसबारे सरकार छलफलमा छ।”

उनले अब पुरानो कृषि प्रणालीले समाज रूपान्तरण गर्न नसक्ने भएकाले वैज्ञानिक ढंगबाट कृषिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले अपाङ्गता भएका व्यक्तिको अधिकारको विषयमा जनप्रतिनिधिहरू अझ जिम्मेवार बन्नुपर्ने बताए। “हाम्रो नगरपालिकाले अधिकार कार्यान्वयनको पक्षमा स्पष्ट नीति बनाएको छ,” उनले भने।

कार्यक्रममा बोल्दै अपाङ्ग महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासवानलगायत वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरू अझै समाजमा अपहेलित भइरहेको र संविधानमा तोकिएका अधिकार पाउन नसकेको गुनासो गरे।

लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले अपाङ्गता भएका व्यक्तिका अधिकार कार्यान्वयनका लागि सात बुँदे घोषणापत्र जारी गरेका छन्। कार्यक्रम संयोजक पूजा शर्माले घोषणापत्रमार्फत सरोकारवाला निकायलाई अपाङ्गता भएका व्यक्तिको पक्षमा तत्काल कदम चाल्न आग्रह गरिएको जानकारी दिइन्।

प्रकाशित मिति: २०८२ असार २५, बुधबार २१:४३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !