दुई महिनादेखि फरार बृहत्तर जनकपुरका अध्यक्ष शीतल साह प्रहरीको फन्दामा

दुई महिनादेखि फरार बृहत्तर जनकपुरका अध्यक्ष शीतल साह प्रहरीको फन्दामा
मधेशपत्र मधेशपत्र २०८२ असार २३, सोमबार १८:११
दुई महिनादेखि फरार बृहत्तर जनकपुरका अध्यक्ष शीतल साह प्रहरीको फन्दामा

जनकपुरधाम : दुई महिनादेखि फरार रहेका बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साह कीर्ते र जालसाजी अभियोगमा पक्राउ परेका छन्।

धनुषा प्रहरीले पूर्वनिर्धारित योजना अनुसार साहलाई आज पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए। उनका अनुसार परिषद्‌का कार्यकारी निर्देशक बैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको अभियोगमा साहलाई नियन्त्रणमा लिइएको हो।

ADVERTISEMENT

पासवानले चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए। त्यसपछि कीर्ते हस्ताक्षर सम्बन्धमा विधि विज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन प्राप्त भएपछि वैशाख २५ मा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको थियो। त्यसयता साह फरार रहेका थिए।

प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको छ।

साहले कीर्ते हस्ताक्षरको आधारमा प्रशासकीय अधिकृत जितेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासु मदन चौधरी र संजय मण्डललाई बर्खास्त गरेका थिए।

सत्तारूढ नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा परिषद् अध्यक्ष नियुक्त भएका साह पछि नेकपा (एमाले)मा प्रवेश गरेका थिए। कर्मचारीहरूका अनुसार उनले कार्यकारी निर्देशक पासवानलाई पटक–पटक धम्की दिने, अवैध आदेश दिन दबाब दिने र प्रशासनिक प्रक्रियालाई बेवास्ता गर्दै मनोमानी निर्णय गर्दै आएका थिए।

साहमाथि भारतीय नम्बर प्लेट भएको सवारीमा नक्कली नेपाली नम्बर प्लेट प्रयोग गरेको आरोप समेत लागेको छ। उक्त विषयमा छुट्टै अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८२ असार २३, सोमबार १८:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !