कमला नदीमा पुलको माग गर्दै वडाध्यक्ष यादवको चेतावनी, ‘बजेटमा नपरे अनशन बस्छु’

कमला नदीमा पुलको माग गर्दै वडाध्यक्ष यादवको चेतावनी, ‘बजेटमा नपरे अनशन बस्छु’
परबिनकुमार पण्डित परबिनकुमार पण्डित २०८२ जेष्ठ ११, आईतवार २२:०१
कमला नदीमा पुलको माग गर्दै वडाध्यक्ष यादवको चेतावनी, ‘बजेटमा नपरे अनशन बस्छु’

जनकपुरधाम : सिरहा नगरपालिका–६ का वडाध्यक्ष इन्द्रजीत यादवले सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथि स्थायी पुल निर्माणको माग गर्दै आगामी आर्थिक वर्षको बजेटमा यसलाई समावेश गर्न मधेश प्रदेश सरकारसँग आग्रह गरेका छन्।

वडाध्यक्ष यादवले आइतबार मधेशपत्रसँग कुरा गर्दै पटक–पटक आग्रह गर्दा पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे। यदि यो मागलाई अबको बजेटमा समावेश नगरेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि अनशन बस्न बाध्य हुने चेतावनीसमेत उनले दिए।

ADVERTISEMENT

“कमला नदीले वर्षेनी यहाँका बासिन्दालाई सास्ती दिँदै आएको छ,” यादवले भने, “यदि प्रदेश सरकारले यो समस्यालाई गम्भीरतापूर्वक लिएन भने म अनशनमा बस्न बाध्य हुनेछु।”

स्थानीयवासीका अनुसार स्थायी पुल नहुँदा सिरहा र धनुषाका सीमावर्ती बस्तीका हजारौं नागरिकलाई दैनिक आवागमनमा कठिनाइ हुँदै आएको छ। विशेष गरी वर्षायाममा नदीमा पानीको बहाव बढ्दा आवतजावत नै बन्द हुने समस्या छ।

वडाध्यक्ष यादवले अब आश्वासनको होइन, काम देखाउने बेला आएको बताए। “हामीलाई आश्वासन होइन, ठोस काम चाहिएको हो,” उनले भने।

उनले संघीय सरकारले कमला पुलको विषयलाई बेवास्ता गरिरहेको आरोपसमेत लगाए। “संघीय सरकारबाट अपेक्षा गर्न सक्ने अवस्था छैन। त्यसैले हामीले अब मधेश प्रदेश सरकारलाई नै बजेट छुट्याएर पुल निर्माण अघि बढाउन माग गरेका हौं,” यादवको भनाइ छ।

प्रकाशित मिति: २०८२ जेष्ठ ११, आईतवार २२:०१
परबिनकुमार पण्डित

परबिनकुमार पण्डित

लेखक


तपाईको प्रतिक्रिया !