काठमाडौंमा इन्डो–नेपाल सीएसआर समिट सम्पन्न

काठमाडौंमा इन्डो–नेपाल सीएसआर समिट सम्पन्न
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ १०, शनिबार २०:५२
काठमाडौंमा इन्डो–नेपाल सीएसआर समिट सम्पन्न

काठमाडौं :संस्थागत सामाजिक उत्तरदायित्व (CSR) क्षेत्र सशक्त बनाउन र नेपाल–भारतबीचको सहकार्य प्रवद्र्धन गर्न उद्देश्यसहित काठमाडौँमा ‘इन्डो–नेपाल सीएसआर समिट’ सम्पन्न भएको छ।

बिफक्याप नेपालको आयोजना र (dZi )फाउन्डेसनको सहकार्यमा आयोजित समिटमा नेपाल र भारतका सिएसआर विज्ञ, सांसद, कर्पोरेट प्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूको सहभागिता थियो।

ADVERTISEMENT

प्रतिनिधि सभाकी उप–सभामुख ईश्वरि न्यौपानेले उद्घाटन गर्दै नेपालमा सिएसआरको खर्च प्रभावकारी रूपमा नहुँदै आएको बताइन्। “कर्पोरेट कम्पनीहरूले सामाजिक उत्तरदायित्वमा खासै ध्यान दिएका छैनन्। सिएसआर भनेको केवल पैसा खर्च होइन, व्यवसायको सामाजिक कर्तव्य पनि हो,” उनले भनिन्। उनले सिएसआर नीतिका लागि बहस भइरहेको र कर्पोरेट समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखिन्।

कार्यक्रममा नेपाल–इन्डिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका उपाध्यक्ष तथा सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सिएसआर विषयमा यस्तो महत्वपूर्ण छलफल हुनु सकारात्मक संकेत भएको बताए। “सूर्य नेपाललगायत कर्पोरेटहरू सिएसआरमा सक्रिय छन्। सहकार्यका यस्ता पहलहरूले दीगो विकासमा टेवा दिन्छ,” उनले भने।

बिफक्याप नेपालका प्रमुख कार्यकारी अधिकृत (CEO) मनोज रेग्मीले समिटबाट संकलित रकम पूर्वी नेपालका भोजपुर, सोलुखुम्बु र खोटाङका ४०० उद्यमीलाई वित्तीय साक्षरता दिने कार्यमा प्रयोग गरिने जानकारी दिए। साथै, उनले आगामी वर्ष एशिया सिएसआर समिट आयोजना गर्ने तयारी रहेको बताए।

कार्यक्रमका सत्रमा सहभागी भारतीय संस्थाका प्रतिनिधिहरूले सिएसआर मोडालिटीलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए। उनीहरूले दीर्घकालीन सामाजिक प्रभाव पार्नका लागि योजनाबद्ध सिएसआर कार्यक्रम आवश्यक रहेको उल्लेख गरे।

बिफक्याप नेपालले देश तथा विदेशका संस्थाहरूसँग सहकार्य गर्दै सीपमूलक तालिम, मानव विकास, क्षमता अभिवृद्धि, सिएसआर तथा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। नेपालमै पहिलोपटक सांसदहरूलाई वित्तीय साक्षरता दिने संस्था पनि बिफक्याप नेपाल नै हो।

प्रकाशित मिति: २०८२ जेष्ठ १०, शनिबार २०:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !