राजनीति र नैतिकताको संगम: मधेशका मुख्यमन्त्री सिंहको कथा

राजनीति र नैतिकताको संगम: मधेशका मुख्यमन्त्री सिंहको कथा
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ८, बिहीबार १०:५४
राजनीति र नैतिकताको संगम: मधेशका मुख्यमन्त्री सिंहको कथा

– अरुण सहनी

आजको समयमा जब राजनीति र व्यापार बीचको दूरी हराउँदै गएको छ, र नेताहरूको नाम अक्सर भ्रष्टाचार, अनियमितता, र अर्बौंको सम्पत्तिसँग जोडिन्छ, त्यस्तो समयमा एउटा यस्तो नाम छ । जसले यो प्रवृत्तिमा अपवाद बन्ने साहस देखाएका छन् , मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह।

ADVERTISEMENT

सिंहजीको व्यक्तिगत व्यवसायिक जीवनको कथा हामी सबैका लागि एउटा उदाहरणीय पाठ हो। आफूले इमानदारीपूर्वक सुरु गरेको व्यवसायलाई नाफा कमाउने प्रयासमा लाग्दा पनि, बजारको उतार–चढाव, प्रणालीगत चुनौती, र कठोर प्रतिस्पर्धाले गर्दा व्यवसाय घाटामा जान सक्छ। यस्ता कठिन परिस्थितिमा उहाँले निजी रुपमा बैंकको चेपुवामा पर्नु परेको छ। तर यसले उहाँको चरित्र, उहाँको नैतिकता, र उहाँको जनप्रतिनिधिको रुपमा जिम्मेवारीप्रति कटिबद्धतालाई अझ स्पष्ट रुपमा देखाउँछ।

आजको युगमा जहाँ नेताहरू व्यापार नगरेकै अवस्थामा अर्बपति बन्दै गइरहेका छन्, भ्रष्टाचारको सञ्जालमा अल्झिएका छन्, अनि नीतिगत निर्णयहरूलाई आफ्नो लाभका लागि प्रयोग गरिरहेका छन् । त्यहाँ सतिश कुमार सिंहजस्तो नेताको उपस्थितिले हामीमा आशा र विश्वास जगाउँछ। कुनै समय अरबौं कमाउन सक्ने ठाउँमा बसेर पनि, राज्यको स्रोतको दुरुपयोग नगरी, निजी घाटा सहेर इमानदारीको बाटो रोज्ने व्यक्तिलाई यदि इमानदार नभनिने हो भने, इमानदारीको परिभाषा फेरिनुपर्नेछ।

मधेश जस्तो क्षेत्र, जहाँ राजनीतिक अस्थिरता, जातीय विभाजन, र आर्थिक असमानताको चुनौतीहरू छन्, त्यहाँ सिंहजस्तो मुख्यमन्त्रीको नेतृत्व एउटा सकारात्मक संकेत हो। उहाँको व्यावसायिक संघर्ष र सार्वजनिक जीवनको सादगीले नयाँ पुस्तालाई पनि एउटा मार्गदर्शन दिन सक्छ।

यसैले, हामीले सतिश कुमार सिंहजस्ता इमानदार नेताहरूको इज्जत गर्नु आवश्यक छ। उहाँको संघर्षको कथा अपमान होइन, सम्मानको हकदार छ। आउने दिनमा जब इतिहास लेखिनेछ, त्यो इतिहासमा मधेशमा कहिल्यै झुक्न नचाहने, गलतसँग सम्झौता नगर्ने एक मुख्यमन्त्री थिए भन्ने कुरा गर्वका साथ लेखिनेछ।

लेखक सहनी समाजिक अभियन्ता हुन् ।

प्रकाशित मिति: २०८२ जेष्ठ ८, बिहीबार १०:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !