अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा कास्य जित्ने आशिषलाई मधेश सरकारको सम्मान

अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा कास्य जित्ने आशिषलाई मधेश सरकारको सम्मान
मधेशपत्र मधेशपत्र २०८२ जेष्ठ ५, सोमबार १७:५९
अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा कास्य जित्ने आशिषलाई मधेश सरकारको सम्मान

जनकपुरधाम : अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाडमा कास्य पदक जितेर मधेश प्रदेशको नाम उज्यालो पार्न सफल भएका धनुषाका आशिष मिश्रलाई प्रदेश सरकारले विशेष प्रशंसापत्र प्रदान गर्दै औपचारिक रूपमा सम्मान गरेको छ ।

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी प्रशंसापत्रमा मिश्रको उपलब्धिलाई ‘प्रदेशको गौरव’का रूपमा प्रशंसा गरिएको छ । २१ देखि २६ अप्रिल २०२५ मा तुर्कमेनिस्तानको अश्गाबातमा सम्पन्न भएको अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा कास्य पदक जित्न सफल भएका आशिष अब आगामी जुलाई १० देखि २० सम्म अष्ट्रेलियाको सनशाइन कोस्ट क्विन्सल्याण्डमा आयोजना हुने ६६औं अन्तर्राष्ट्रिय गणितीय ओलम्पियाड (आइएमओ २०२५) मा नेपालका तर्फबाट सहभागी हुनेछन् ।

ADVERTISEMENT

प्रशंसापत्रमा लेखिएको छ, ‘तपाईंको यो उपलब्धि केवल व्यक्तिगत गर्वको विषय मात्र नभई मधेश प्रदेशका युवामा रहेको अपार सम्भावनाको प्रतीक हो । यस्तो अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नु तपाईंको अथक मेहनत, प्रतिबद्धता र गणितप्रतिको निष्ठाको प्रमाण हो ।’

प्रशंसापत्र प्राप्त गरेपछि आशिष मिश्रले आफ्नो प्रतिक्रिया दिँदै भने, ‘प्रदेश सरकारबाट यति ठूलो सम्मान पाउनु मेरो लागि अत्यन्त प्रेरणादायी छ । यसले मेरो आत्मबल झनै बढाएको छ र म आगामी (आइएमओ २०२५) मा नेपाल र मधेश दुवैको नाम अन्तर्राष्ट्रिय मञ्चमा उच्च राख्न सम्पूर्ण प्रयास गर्नेछु ।’

उनका अनुसार सरकारले दिएको यस्तो मान्यता र समर्थनले भविष्यमा विज्ञान, गणित तथा अनुसन्धानमा गहिरो रुचि राख्ने विद्यार्थीहरूलाई थप प्रेरणा र आत्मविश्वास दिनेछ ।

धनुषा जिल्लाको औरही गाउँपालिका–२ परवाहाका बासिन्दा आशिष मिश्र पछिल्ला केही वर्षदेखि अन्तर्राष्ट्रिय गणितीय प्रतियोगिताहरूमा निरन्तर प्रतिस्पर्धा गर्दै आएका छन् । गतवर्ष पनि उनले एसियाली स्तरका प्रतियोगितामा पदकहरू जितेका थिए । उनले मधेशमा गणितीय प्रतिभाको सम्भावना छ भन्ने कुरा प्रमाणित गरेका छन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार मधेश प्रदेश सरकारले यस्ता प्रतिभालाई प्रोत्साहन गर्न आगामी दिनमा प्रदेशस्तरीय छात्रवृत्ति योजना, अनुसन्धान प्रवर्द्धन कार्यक्रम तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित केन्द्रहरूको विकासमा जोड दिने जनाएको छ ।

मुख्यमन्त्री सिंहले भने, ‘आशिषजस्ता विद्यार्थीहरू प्रदेशकै मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणा हुन् । हामी यस्ता होनहार प्रतिभाहरूको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि प्रतिबद्ध छौं ।’

प्रकाशित मिति: २०८२ जेष्ठ ५, सोमबार १७:५९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !