शहिदनगरको मेयरमा जनमतका युवा नेता बिरेन्द्र यादवको चर्चा

शहिदनगरको मेयरमा जनमतका युवा नेता बिरेन्द्र यादवको चर्चा
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक २१, शनिबार १८:४८
शहिदनगरको मेयरमा जनमतका युवा नेता बिरेन्द्र यादवको चर्चा

जनकपुरधाम : आगामी फाल्गुनमा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै धनुषाको शहिदनगर नगरपालिकामा मेयर पदका सम्भावित उम्मेदवारबारे राजनीतिक चर्चा सुरु भएको छ। यसैक्रममा जनमत पार्टीका युवा नेता बिरेन्द्र यादवको नाम पनि मेयरका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउन थालेको छ।

पार्टी संगठनमा सक्रियता, विद्यार्थी राजनीतिबाट हासिल गरेको अनुभव र युवाहरूमाझको पहुँचका कारण यादवलाई स्थानीय राजनीतिक वृत्तमा सम्भावित युवा नेतृत्वका रूपमा हेरिएको छ।

ADVERTISEMENT

जनमत पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नम्बर २(ख) बाट २०७९ सालको प्रदेशसभा निर्वाचनमा करिब ६ हजार ७ सय मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी बनेका रामपुकार यादवका भाइ हुन् बिरेन्द्र।

पारिवारिक राजनीतिक पृष्ठभूमि भए पनि यादव आफ्नै राजनीतिक सक्रियता र संगठनात्मक भूमिकामार्फत पहिचान स्थापित गर्ने प्रयासमा छन्। विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका उनले संगठनभित्र विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन्।

विद्यार्थी जनमत संघ धनुषाको जिल्ला कोषाध्यक्षबाट राजनीतिक यात्रा सुरु गरेका यादवले पार्टीको जिल्ला अधिवेशनमा सचिवालय प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए। हाल उनी विद्यार्थी जनमत संघ धनुषाको जिल्ला अध्यक्षका रूपमा सक्रिय छन्।

जनमत पार्टीका विभिन्न निर्वाचन अभियानमा सहभागी हुँदै आएका यादव संगठन विस्तार तथा युवाहरूलाई पार्टीमा आबद्ध गराउने गतिविधिमा पनि सक्रिय रहँदै आएका छन्। विद्यार्थी संगठनमा काम गरेको अनुभवलाई स्थानीय राजनीतिमा उपयोग गर्ने उनको प्रयास रहेको देखिन्छ।

शहिदनगरमा आगामी निर्वाचनलाई लिएर युवा नेतृत्व र राजनीतिक परिवर्तनको बहससमेत सुरु हुन थालेको छ।

प्रकाशित मिति: २०८३ कार्तिक २१, शनिबार १८:४८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !