पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्धित

पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्धित
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ७, शुक्रबार १०:४६
पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्धित

काठमाडौं : पाकिस्तानका ब्याटर तथा टी–२० राष्ट्रिय टोलीका कप्तान साहिबजादा फरहान नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्। उनलाई आगामी सिजनका लागि कर्णाली याक्सले अनुबन्ध गरेको उच्च स्रोतलाई उद्धृत गर्दै अनलाइनखबरले जनाएको छ।

३० वर्षीय दायाँहाते ब्याटर फरहान पाकिस्तानका अनुभवी टी–२० खेलाडीमध्ये एक हुन्। उनले पाकिस्तानका लागि ६ एकदिवसीय र ५१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनले दुई शतक र १३ अर्धशतकको मद्दतमा १ हजार ५५४ रन बनाएका छन्। यस प्रारूपमा उनको स्ट्राइक रेट १३९.४९ छ।

ADVERTISEMENT

समग्र टी–२० क्रिकेटमा फरहानले १८६ खेल खेल्दै नौ शतक र ३८ अर्धशतकसहित ५ हजार ७७५ रन बनाएका छन्। उनको व्यक्तिगत उच्च स्कोर अविजित १६२ रन हो।

घरेलु क्रिकेटमा पनि उनको प्रदर्शन प्रभावशाली छ। उनले प्रथम श्रेणी क्रिकेटका ६३ खेलमा ४ हजार ७९६ रन बनाएका छन् भने लिस्ट ए क्रिकेटका ८१ खेलमा ३ हजार १६५ रन जोडेका छन्।

कर्णाली याक्सले यसअघि पाकिस्तानका हुसेन तलत तथा बंगलादेशका अक्बर अली र अरिफुल इस्लामलाई पनि टोलीमा अनुबन्ध गरिसकेको छ।

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ।

को हुन् साहिबजादा फरहान?

साहिबजादा फरहान लामो समयदेखि पाकिस्तानको घरेलु क्रिकेटमा प्रतिभाशाली ब्याटरका रूपमा परिचित छन्। यद्यपि, घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा नियमित अवसर पाउन उनले लामो समय प्रतीक्षा गर्नुपरेको थियो।

उनले १७ वर्षको उमेरमै घरेलु टी–२० क्रिकेटमा पदार्पण गरेका थिए। सन् २०१६ देखि प्रथम श्रेणी क्रिकेटमा निरन्तर प्रदर्शन गर्दै आएका फरहानले नौ वर्षको अवधिमा ४ हजार ५०० भन्दा बढी रन बनाएका थिए। यस क्रममा उनको औसत ४५ भन्दा माथि थियो।

फरहानले सन् २०१८ मा हरारेमा आयोजित त्रिकोणात्मक शृङ्खलामा अस्ट्रेलियाविरुद्ध टी–२० अन्तर्राष्ट्रियमा पदार्पण गरेका थिए। त्यतिबेला उनी २२ वर्षका थिए। तर, तीन खेलपछि राष्ट्रिय टोलीबाट बाहिरिएका उनी सन् २०२४ सम्म पाकिस्तानको टोलीमा फर्कन सकेनन्।

उनको करिअरमा घरेलु क्रिकेटको प्रदर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा निरन्तरता दिनु प्रमुख चुनौती रह्यो। तर, सन् २०२५ को पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडबाट खेलेका फरहानले १२ खेलमा ४४९ रन बनाएपछि उनको प्रदर्शनले नयाँ उचाइ लियो।

उक्त प्रदर्शनपछि उनी पाकिस्तानको टी–२० अन्तर्राष्ट्रिय टोलीमा पुनः फर्किए। त्यसपछि बंगलादेश र वेस्ट इन्डिजविरुद्धका शृङ्खलामा उनले छ इनिङ्समा तीन अर्धशतक बनाउँदै आफ्नो क्षमता प्रमाणित गरे।

कर्णाली याक्समा फरहानको आगमनले टोलीको ब्याटिङ बलियो बनाउने अपेक्षा गरिएको छ। उनको अनुभव र आक्रामक ब्याटिङ एनपीएलको तेस्रो संस्करणमा कर्णालीका लागि महत्त्वपूर्ण हुन सक्नेछ।

प्रकाशित मिति: २०८३ कार्तिक ७, शुक्रबार १०:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !