प्लेअफ हुँदै उपाधि चुम्ने लक्ष्यमा विराटनगर किंग्स

प्लेअफ हुँदै उपाधि चुम्ने लक्ष्यमा विराटनगर किंग्स
मधेशपत्र मधेशपत्र २०८३ कार्तिक ४, मंगलवार १३:१४
प्लेअफ हुँदै उपाधि चुम्ने लक्ष्यमा विराटनगर किंग्स

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सले प्लेअफ हुँदै उपाधि जित्ने लक्ष्य राखेको छ। कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगरले कप्तान सन्दीप लामिछानेको नेतृत्वमा यसपटक बलियो प्रदर्शन गर्ने तयारी गरेको छ।

‘कोशीको सान’ को पहिचान बनाएको विराटनगरको टोलीमा राष्ट्रिय टोलीका कप्तान सन्दीपसँगै लोकेश बम, बसिर अहमद, प्रतिश जिसी, नारायण जोशी र सुवास भण्डारीजस्ता खेलाडी छन्। चर्चित लेग स्पिनर सन्दीप टोलीका मार्की खेलाडीसमेत हुन्।

ADVERTISEMENT

एनपीएलको पहिलो सिजनमा विराटनगरले सातमध्ये दुई खेल मात्रै जित्दै छैटौँ स्थानमा चित्त बुझाएको थियो। दोस्रो सिजनमा भने टोलीले उत्कृष्ट प्रदर्शन गर्दै लिग चरणमा सातमध्ये पाँच खेल जितेर दोस्रो स्थान हासिल गरेको थियो। तर, प्लेअफमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्ससँग पराजित भएपछि विराटनगर तेस्रो स्थानमा सीमित भयो।

दोस्रो सिजनमा मार्टिन गप्टिल, फाफ डु प्लेसिस, जर्ज मन्से र मर्चेन्ट डे लाङजस्ता विदेशी खेलाडी भित्र्याएको विराटनगरले यसपटक टोलीको मुख्य संरचनालाई निरन्तरता दिँदै अन्य खेलाडीमा परिवर्तन गरेको छ।

कप्तान सन्दीपसहित लोकेश बम, बसिर अहमद, प्रतिश जिसी, नारायण जोशी र सुवास भण्डारीलाई टोलीले निरन्तरता दिएको छ। अक्सनबाट रुपेश सिंह, नरेन साउद, दिलसाद अली, सुजन थपलिया, अपराजित पौडेल, प्रतीक श्रेष्ठ र इमरान शेखलाई अनुबन्ध गरिएको छ।

विदेशी खेलाडीमा रसेलको प्रवेश

विराटनगरले तेस्रो सिजनका लागि वेस्ट इन्डिजका स्टार अलराउन्डर आन्द्रे रसेल, श्रीलंकाका चरिथ असलंका र अमेरिकी अलराउन्डर शुभम रन्जानेलाई अनुबन्ध गरेको छ। रन्जाने लगातार तेस्रो सिजन विराटनगरबाट खेल्ने तयारीमा छन् भने असलंका पहिलोपटक टोलीमा आबद्ध भएका हुन्।

टोलीले श्रीलंकाका धम्मिका प्रसादलाई मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ। विदेशी खेलाडीको अन्तिम सूची र टोलीको संयोजनले विराटनगरको वास्तविक क्षमता निर्धारण गर्नेछ।

ब्याटिङतर्फ लोकेश बमले ओपनिङ गर्ने सम्भावना छ। असलंका मिडल अर्डरमा र रसेल तथा रन्जाने अलराउन्डरको भूमिकामा देखिन सक्छन्। यद्यपि, टप अर्डरमा थप विदेशी खेलाडीको आवश्यकता टोलीले महसुस गर्न सक्छ।

बलिङतर्फ प्रतिश जिसी र रुपेश सिंहले तीव्र गतिका बलरको जिम्मेवारी सम्हाल्न सक्छन्। प्रतिश भने शल्यक्रियापछि पूर्ण फिटनेसमा फर्किने क्रममा छन्। स्पिन बलिङमा कप्तान सन्दीप मुख्य हतियार हुनेछन्। उनलाई नरेन साउद र सुवास भण्डारीले साथ दिने अपेक्षा छ।

दोस्रो सिजनमा सन्दीपले संयुक्त रूपमा सर्वाधिक १७ विकेट लिएका थिए। राष्ट्रिय टोलीको एकदिवसीय कप्तानका रूपमा पुनरागमन गरेका सन्दीपबाट विराटनगरले यसपटक पनि प्रभावशाली प्रदर्शनको अपेक्षा गरेको छ।

गत सिजन फाइनल पुग्न असफल भएको विराटनगर यसपटक कमजोरी सुधार्दै उपाधि जित्ने लक्ष्यमा छ। अनुभवी नेपाली खेलाडी, अन्तर्राष्ट्रिय स्टार र सन्दीपको कप्तानीलाई प्रभावकारी रूपमा उपयोग गर्न सके विराटनगर उपाधिको बलियो दाबेदार बन्न सक्छ।

प्रकाशित मिति: २०८३ कार्तिक ४, मंगलवार १३:१४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !