गौरमा केवाइसी अपडेटको बहानामा झन्डै ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

गौरमा केवाइसी अपडेटको बहानामा झन्डै ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ
अभिमनु पटेल अभिमनु पटेल २०८३ आश्विन २६, सोमबार १७:२२
गौरमा केवाइसी अपडेटको बहानामा झन्डै ५० लाख ठगी, भारतीय नागरिकसहित तीन जना पक्राउ

रौतहट : बैंक तथा डिजिटल वालेटको केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको खातामा अनधिकृत पहुँच पुर्‍याएर झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार गौरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार हालसम्म घटनासम्बन्धी २२ वटा उजुरी प्राप्त भएका छन्। प्रारम्भिक अनुसन्धानबाट ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ।

ADVERTISEMENT

प्रहरीका अनुसार गत असोज २३ गते दिउँसो करिब ४ बजे गौर नगरपालिका–३ को पोखरिया टोल र वडा नम्बर ५ कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित सीतामढी जिल्लाको बैगनियाका २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा छन्। साहिल र सोनी गौर नगरपालिका–३ मा डेरा गरी बस्दै आएका थिए।

उनीहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूको साथ तथा सम्बन्धित स्थानबाट प्रहरीले एक लाख ६२ हजार २१० रुपैयाँ नेपाली र तीन हजार २३६ रुपैयाँ भारतीय मुद्रा बरामद गरेको छ।

त्यस्तै, सात थान मोबाइल, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको एसपी रिजालले जानकारी दिए।

प्रहरीले ठगीमा प्रयोग भएको हुन सक्ने रकमको हिसाबकिताब, खातावालालाई फोन गर्दा बोलिने संवाद तथा मोबाइलको स्क्रिन सेयर गराउने तरिकाबारे लेखिएका डायरी र कापीसमेत नियन्त्रणमा लिएको छ।

यसैगरी, प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक तथा विभिन्न बैंकिङ विवरण उल्लेख गरिएका कागजात पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न मुख्य योजनाकार तथा अन्य व्यक्तिहरूको पहिचान भइसकेको छ। उनीहरूको खोजी भइरहेको र ठगीको रकम कहाँ–कहाँ स्थानान्तरण भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसपी रिजालले बताए।

ठगीमा परेका व्यक्तिहरूको संख्या, रकम स्थानान्तरणमा संलग्न अन्य व्यक्ति तथा डिजिटल कारोबार सञ्चालन गरिएको तरिकाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बैंक वा डिजिटल वालेटको केवाइसी अपडेट गर्ने बहानामा अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

त्यस्ता व्यक्तिलाई मोबाइलको स्क्रिन सेयर नगर्न, ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण उपलब्ध नगराउन र शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक सम्पर्क माध्यमबाट पुष्टि गर्न प्रहरीले सुझाव दिएको छ।

अनलाइन ठगीमा परेका व्यक्तिलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी उजुरी दिनसमेत प्रहरीले अपिल गरेको छ।

प्रकाशित मिति: २०८३ आश्विन २६, सोमबार १७:२२
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !