रौतहटमा अलपत्र ४२ भारतीय नागरिकको उद्धार, भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइयो

रौतहटमा अलपत्र ४२ भारतीय नागरिकको उद्धार, भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइयो
अभिमनु पटेल अभिमनु पटेल २०८३ आश्विन १९, सोमबार १३:५१
रौतहटमा अलपत्र ४२ भारतीय नागरिकको उद्धार, भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइयो

रौतहट : रौतहटको गुजरा नगरपालिका–५ लक्ष्मीपुरस्थित एक इँटाभट्टामा कामका लागि ल्याइएर अलपत्र परेका ४२ जना भारतीय नागरिकलाई प्रहरीले उद्धार गरी भारतीय सुरक्षाकर्मीको जिम्मा लगाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार असोज १८ गते बिहान करिब २:३० बजे मोहम्मद मुजामिलले सञ्चालन गरेको मदिना इँटाभट्टामा भारतीय ठेकेदारमार्फत काम गर्न आएका मजदुरहरू अलपत्र परेको सूचना प्राप्त भएको थियो।

ADVERTISEMENT

सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरबाट संयुक्त प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार इँटाभट्टामा भारतबाट आएका १२ पुरुष, ११ महिला, १० बालक र ९ बालिका गरी ४२ जना भारतीय नागरिक थिए। उनीहरूलाई कामका लागि ल्याउने भारतीय ठेकेदार सम्पर्कविहीन भएपछि मजदुर तथा उनीहरूका आश्रित परिवार अलपत्र परेका थिए।

प्रहरीले आवश्यक अनुसन्धान तथा समन्वय गरेपछि सोही दिन साँझ उनीहरूलाई उद्धार गरी ना ७ ख १६७५ नम्बरको बसमार्फत गौर भन्सारतर्फ पठाएको थियो।

गौर भन्सार पुगेपछि भन्सार सुरक्षा गार्ड रौतहटको पहलमा उनीहरूलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बर्गिनिया इकाइ तथा भारतीय प्रहरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उद्धार गरिएका सबै भारतीय नागरिकलाई सकुशल रूपमा स्वदेश फर्काइएको छ।

घटनास्थल प्रहरी चौकी हरिनगरबाट करिब पाँच किलोमिटर दक्षिण–पूर्वमा पर्छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले मानव सुरक्षालाई प्राथमिकता दिँदै अलपत्र परेका विदेशी नागरिकको उद्धार गरी सम्बन्धित निकायसँग समन्वय गरेर सुरक्षित रूपमा जिम्मा लगाइएको बताए।

घटनामा संलग्न व्यक्ति तथा भारतीय ठेकेदारको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८३ आश्विन १९, सोमबार १३:५१
अभिमनु पटेल

अभिमनु पटेल

लेखक


तपाईको प्रतिक्रिया !