बंगालको खाडीमा रहेको शक्तिशाली प्रणालीको प्रभाव नेपालमा बुधबारदेखि नै पर्ने

बंगालको खाडीमा रहेको शक्तिशाली प्रणालीको प्रभाव नेपालमा बुधबारदेखि नै पर्ने
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ६, मंगलवार २०:२७
बंगालको खाडीमा रहेको शक्तिशाली प्रणालीको प्रभाव नेपालमा बुधबारदेखि नै पर्ने

काठमाडौं : नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र (लो प्रेसर एरिया) थप शक्तिशाली बन्दै डिप डिप्रेसन (बलियो न्यूनचापीय क्षेत्र) भई पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने र यसको प्रभावले बुधबार (असोज ७) बाटै नेपालमा वर्षा बढ्दै जाने देखिएकाले सतर्कता अपनाउन सुझाव दिएको छ।

मौसम महाशाखाले आज (मंगलबार) साँझ दोस्रो विशेष मौसम बुलेटिन जारी गरी त्यस प्रणालीका कारण बुधबारदेखि कोसी, बागमती र गण्डकी प्रदेशमा वर्षा बढ्दै जाने देखिएको जानकारी दिएको हो।

ADVERTISEMENT

त्यस न्यून चापीय क्षेत्र अझ सशक्त बन्दै जाँदा असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङ/हुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना देखिएको मौसम महाशाखाले जनाएको छ।

साथै मधेस प्रदेश तथा कोसी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङ/हुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

मौसम महाशाखाले अगाडि भनेको छ, ‘तसर्थ सम्भावित वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठुला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटनलगायत नदी क्षेत्र आसपासका निर्माण, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ। हाल केही स्थानबाट धानबाली भित्र्याउन मौसमसम्बन्धी जानकारी माग भएकाले सम्बन्धित कृषि विज्ञको सल्लाहमा कार्य गर्न हुन अनुरोध गरिन्छ। साथै उक्त मौसम प्रणालीको प्रभाव देशको हिमाली भूभागमा भारीसम्म हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैले उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ।’

प्रकाशित मिति: २०८३ आश्विन ६, मंगलवार २०:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !