अनिता मण्डलको प्रतिबद्धता : कार्यकर्ताका आवाज केन्द्रीय सचिवालयमा उठाउने

अनिता मण्डलको प्रतिबद्धता : कार्यकर्ताका आवाज केन्द्रीय सचिवालयमा उठाउने
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ५, सोमबार १२:५८
अनिता मण्डलको प्रतिबद्धता : कार्यकर्ताका आवाज केन्द्रीय सचिवालयमा उठाउने

जनकपुरधाम : जनमत पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा राष्ट्रिय उपाध्यक्ष पदका लागि २८ वर्षीया अनिता कुमारी मण्डलले उम्मेदवारी दिएकी छन्।

युवा पुस्ताको नेतृत्व, योग्यता, पारदर्शिता र काम गर्ने क्षमतालाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै उनले आफ्नो उम्मेदवारी उमेरका आधारमा नभई अनुभव र प्रतिबद्धताका आधारमा रहेको बताएकी छन्।

ADVERTISEMENT

‘म २८ वर्षकी युवा महिला हुँ र जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छु,’ मण्डलले भनेकी छन्, ‘युवा नै परिवर्तनको आवाज हो। कम उमेर भएकै कारण हेप्ने वा अवसरबाट वञ्चित गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ।’

उनले आफूभन्दा कम उमेरका महिला, युवा तथा समावेशी समुदायका व्यक्तिहरूले पनि आगामी दिनमा पार्टीको नेतृत्वमा उम्मेदवारी दिएर अगाडि बढ्न सक्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिएकी छन्।

मण्डलले पार्टीको नीति, निर्देशन र अनुशासनमा रहेर एक समर्पित कार्यकर्ताका रूपमा निरन्तर काम गर्दै आएको अनुभवलाई आगामी दिनमा थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

पार्टीका कार्यकर्ता तथा नेताहरूका आवाजलाई केन्द्रीय सचिवालयमा उठाउँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि पार्टीका कार्यकर्ता र आम सदस्यका सवाल, आवाज तथा अपेक्षालाई प्रभावकारी रूपमा उठाउने बताएकी छन्।

‘उमेर होइन, योग्यता, पारदर्शिता, प्रतिबद्धता र काम गर्ने क्षमताले नेतृत्वको मूल्याङ्कन हुनुपर्छ,’ उनले भनेकी छन्।

मण्डल जनमत पार्टीकी संस्थापक केन्द्रीय सदस्य, वर्तमान राष्ट्रिय सचिव तथा केन्द्रीय अनुशासन समितिकी सदस्य सचिवसमेत हुन्।

पार्टीको दोस्रो राष्ट्रिय महाधिवेशनमा उनले राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन्।

प्रकाशित मिति: २०८३ आश्विन ५, सोमबार १२:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !