कांग्रेस कमला–३ को सभापतिमा जयनाथ र रामभगतबीच प्रतिस्पर्धा हुने सम्भावना, सहमति नभए भोलि चुनाव

कांग्रेस कमला–३ को सभापतिमा जयनाथ र रामभगतबीच प्रतिस्पर्धा हुने सम्भावना, सहमति नभए भोलि चुनाव
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ४, आईतवार २०:५४
कांग्रेस कमला–३ को सभापतिमा जयनाथ र रामभगतबीच प्रतिस्पर्धा हुने सम्भावना, सहमति नभए भोलि चुनाव

जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ वडा अधिवेशनअन्तर्गत धनुषाको कमला नगरपालिका–३ मा वडा सभापति चयनका लागि सहमति जुट्न नसक्दा निर्वाचन हुने सम्भावना बढेको छ।

शनिबारदेखि जारी अधिवेशनमा वडा सभापतिका आकांक्षीहरूबीच सहमति जुटाउने प्रयास भए पनि सफल हुन सकेको छैन। सभापति पदका लागि उम्मेदवारी दिएका जयनाथ कुमार यादव र रामभगत यादवबीच सहमति हुन नसकेपछि उनीहरूबीच प्रतिस्पर्धा हुने सम्भावना बढेको हो।

ADVERTISEMENT

वडा सभापतिका लागि उम्मेदवारी दिएका मकेश्वर यादव, श्रीप्रसाद तेथवार र मंजय तेथवार यादवले भने उम्मेदवारी फिर्ता लिएका छन्। उनीहरूले उम्मेदवारी फिर्ता लिएसँगै सभापति पदमा जयनाथ र रामभगतबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको हो।

निर्वाचन अधिकृत शंकर मण्डलका अनुसार वडा नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयास भइरहेको छ। उनका अनुसार सोमबार बिहान १० बजेसम्म सहमति कायम गर्न समयसीमा तोकिएको छ।

उक्त समयभित्र सहमति हुन नसके निर्वाचन प्रक्रियामार्फत सभापति चयन गरिने निर्वाचन अधिकृत मण्डलले बताए।

सभापति पदमा पाँच जनाको उम्मेदवारी परेपछि नेतृत्व चयन प्रक्रिया लम्बिएको थियो। उम्मेदवारी फिर्तापछि पनि बाँकी उम्मेदवारबीच सहमति हुन नसक्दा वडा अधिवेशनमा निर्वाचन हुने सम्भावना बढेको हो।

सहमतिकै माध्यमबाट नेतृत्व चयन गर्ने प्रयास जारी रहे पनि अन्तिम समयसीमाभित्र सहमति जुट्छ वा निर्वाचन हुन्छ भन्ने टुंगो लागेको छैन ।

प्रकाशित मिति: २०८३ आश्विन ४, आईतवार २०:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !