सिरहामा २२ महिनापछि भारतीय मदिरा तस्कर प्रहरीको फन्दामा, भाग्न खोज्दा गोली लाग्यो

सिरहामा २२ महिनापछि भारतीय मदिरा तस्कर प्रहरीको फन्दामा, भाग्न खोज्दा गोली लाग्यो
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३, शनिबार २२:०३
सिरहामा २२ महिनापछि भारतीय मदिरा तस्कर प्रहरीको फन्दामा, भाग्न खोज्दा गोली लाग्यो

सिरहा : ज्यानसम्बन्धी कसुरमा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले २२ महिनापछि गोली प्रहार गरी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका–५ का ३७ वर्षीय मोहम्मद कुरवान मंसुरी रहेका छन् ।

प्रहरीका अनुसार भारततर्फ ठूलो परिमाणमा मदिरा तस्करी भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले सिरहाको बरियारपट्टी गाउँपालिका–१, कचनारीस्थित नेपाल–भारत सीमा नजिक चेकजाँच गरिरहेको थियो । सो क्रममा भारततर्फ जाँदै गरेको टाटा सफारी गाडीलाई रोक्ने क्रममा गाडीका चालक तथा धनीसमेत रहेका मंसुरीले प्रहरीको नियन्त्रणबाट उम्किन खोजेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रहरीका अनुसार मंसुरीले गाडी नरोकी प्रहरीलाई ठक्कर दिने प्रयास गर्दै भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । त्यस क्रममा प्रहरीले गोली चलाएको जनाएको छ। गोली लागेर घाइते भएका मंसुरीको बायाँ हातको कुहिना तथा दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।

घाइते मंसुरीलाई नियन्त्रणमा लिएपछि उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो। अस्पतालमा उपचाररत उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मंसुरी ज्यानसम्बन्धी कसुर मुद्दामा लामो समयदेखि फरार थिए । उनी घटनापछि भारततर्फ लुकीछिपी बस्दै आएको र नेपाल आएको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट प्रहरीले मदिरा तस्करीमा प्रयोग भएको टाटा सफारी गाडीसहित अन्य व्यक्तिलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार २२:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !