वर्षौंको त्याग र संघर्षपछि अरबिन्द सहनीले दिए जनमतको केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी

वर्षौंको त्याग र संघर्षपछि अरबिन्द सहनीले दिए जनमतको केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी
मधेशपत्र मधेशपत्र २०८३ आश्विन ३, शनिबार ११:१३
वर्षौंको त्याग र संघर्षपछि अरबिन्द सहनीले दिए जनमतको केन्द्रीय कार्यकारिणी सदस्यमा उम्मेदवारी

जनकपुरधाम : जनमत पार्टीको दोस्रो महाधिवेशनमा सिरहाका युवा नेता अरबिन्द सहनीले केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीसँगै पार्टी निर्माणमा लामो समयदेखि योगदान दिँदै आएका कार्यकर्ताको मूल्याङ्कन र नेतृत्वमा युवाको अवसरबारे बहस सुरु भएको छ।

वीरगन्जमा असोज ९ र १० गते हुने पार्टीको दोस्रो महाधिवेशनमा सहनीले केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका हुन्।

ADVERTISEMENT

सहनीको उम्मेदवारीलाई लिएर सामाजिक सञ्जालमा एक युवाले जनमत पार्टीको नेतृत्वलाई प्रश्न गरेका छन्। उनले संगठन निर्माण, चुनावी अभियान र कठिन परिस्थितिमा पार्टीका लागि योगदान दिएका कार्यकर्ताको उचित मूल्याङ्कन हुनुपर्ने बताएका छन्।

‘बलियो सोच, लामो समयको समर्पण, इमानदार मेहनत र कठिन परिस्थितिमा दिएको योगदानको मूल्याङ्कन कहिले हुन्छ?’ उनले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्।

उनले संगठन र चुनावका बेला कार्यकर्ताको मत, मेहनत र शक्ति आवश्यक पर्ने तर नेतृत्वमा जिम्मेवारी बाँडफाँट गर्दा आर्थिक हैसियत, पहुँच, जातीय प्रभाव र शक्तिशाली समूहको प्रभाव हावी हुन सक्ने चिन्ता व्यक्त गरेका छन्।

सिरहामा जनमत पार्टीको संगठन निर्माण र विस्तारमा सहनीले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले उनको उम्मेदवारीलाई वर्षौंको त्याग, संघर्ष र समर्पणको मूल्याङ्कन गर्ने अवसरका रूपमा लिनुपर्ने तर्क गरेका छन्।

‘बाल्यकालदेखि आजसम्म आफ्नो समय, ऊर्जा र जवानीको महत्वपूर्ण हिस्सा पार्टी निर्माणमा समर्पण गर्ने व्यक्तिका रूपमा अरबिन्द सहनीको योगदानलाई हेर्नुपर्छ,’ उनले लेखेका छन्।

उनका अनुसार सहनीले कठिन परिस्थितिमा समेत पार्टीप्रतिको प्रतिबद्धता कायम राख्दै संगठन निर्माणमा आफ्नो समय, क्षमता र मेहनत खर्चिएका छन्। त्यसैले पार्टीको नेतृत्व चयन गर्दा उनको योगदानलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

‘योगदानको मूल्याङ्कन नभए कार्यकर्ताको मनोबल घट्छ’

सहनीले केन्द्रीय कार्यकारिणी सदस्यको जिम्मेवारी नपाएमा त्यसले उनको व्यक्तिगत राजनीतिक यात्रामा मात्र नभई वर्षौंदेखि निस्वार्थ रूपमा संगठनका लागि काम गर्दै आएका कार्यकर्ताको मनोबलमा समेत असर पार्न सक्ने ती युवाको चिन्ता छ।

उनले नेतृत्व चयनमा धन, पहुँच र जातीय प्रभावभन्दा क्षमता, विचार, संघर्ष र योगदानलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

जनमत पार्टीको आलोचना गर्दै आएका उनले सहनीजस्ता युवाले आफ्नो योगदानअनुसार जिम्मेवारी पाएमा पार्टीप्रतिको आफ्नो दृष्टिकोणसमेत पुनर्विचार गर्ने बताएका छन्।

‘यदि अरबिन्द सहनीजस्ता युवाले आफ्नो योगदानअनुसार जिम्मेवारी पाउँछन् भने, मजस्ता आलोचकहरूले पनि आफू गलत रहेछु भनेर स्वीकार गर्नुपर्छ,’ उनले भनेका छन्।

उनले महाधिवेशनका प्रतिनिधि तथा युवा कार्यकर्तालाई सिरहामा पार्टी निर्माण र संगठन विस्तारका लागि सहनीले गरेको योगदानको कदर गर्नसमेत आग्रह गरेका छन्।

‘त्यागको सम्मान गरौँ, संघर्षको मूल्य बुझौँ र मेहनती तथा योग्य युवालाई नेतृत्वमा पुग्ने अवसर दिऔँ,’ उनले अपिल गरेका छन्।

जनमत पार्टीको दोस्रो महाधिवेशनमा सहनीले केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्। उनको उम्मेदवारीले पार्टीभित्र संगठन निर्माणमा योगदान दिएका कार्यकर्ताको मूल्याङ्कन र नेतृत्वमा युवाको सहभागिताबारे उठेको बहसलाई थप चर्चामा ल्याएको छ।

महाधिवेशनबाट सहनी निर्वाचित हुन्छन् वा हुँदैनन् भन्ने टुंगो भने निर्वाचनको परिणामपछि लाग्नेछ।

प्रकाशित मिति: २०८३ आश्विन ३, शनिबार ११:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !