बाढीपछि सैनिक पोशाकमा देखिएको ‘ग्रिन आर्मी’को दर्ता खारेज

बाढीपछि सैनिक पोशाकमा देखिएको ‘ग्रिन आर्मी’को दर्ता खारेज
राधेश्याम राउत राधेश्याम राउत २०८३ भाद्र २१, आईतवार १७:५९
बाढीपछि सैनिक पोशाकमा देखिएको ‘ग्रिन आर्मी’को दर्ता खारेज

जनकपुरधाम : भोटेकोशी–त्रिशूली बाढीपछि राहत तथा उद्धारका गतिविधिमा सैनिकसँग मिल्दोजुल्दो पोशाकमा देखिएर विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज भएको बताइएको छ।

उच्च सैनिक स्रोतका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको उक्त संस्थाको दर्ता हालै खारेज गरिएको हो। दर्ता खारेजीसँगै कम्पनीका रूपमा सञ्चालन हुने संस्थाका गतिविधिमा समेत रोक लाग्ने अवस्था आएको छ।

ADVERTISEMENT

ग्रिन आर्मी २०७७ साउनमा गैरनाफामूलक कम्पनीका रूपमा दर्ता भएको थियो। वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्राथमिक उपचार तथा विपद् व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गर्ने उद्देश्य राखिएको संस्थाले ‘आर्मी’ शब्दसँगै सैनिक शैलीको हरियो पोशाक, दर्ज्यानी चिह्न तथा मार्शल र क्याडेटजस्ता संरचना प्रयोग गर्दै आएको थियो।

भोटेकोशी–त्रिशूली बाढीपछि संस्थाका सदस्यहरू सैनिकसँग मिल्दोजुल्दो पोशाकमा फिल्डमा देखिएपछि विवाद थप चर्किएको थियो। यसले गैरसैनिक संस्थाले नेपाली सेनासँग भ्रम सिर्जना हुने नाम, पोशाक र संरचना प्रयोग गरेको भन्दै प्रश्न उठेको थियो।
यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले संस्थालाई विगतमा पोशाक प्रयोगसम्बन्धी अनुमति कसरी दिइएको थियो भन्ने विषयमा समेत जानकारी लिने काम भइरहेको जनाएको छ।

यद्यपि, ग्रिन आर्मीको समाज कल्याण परिषद्सँगको आबद्धता भने अहिलेसम्म खारेज भएको छैन। परिषद्का अनुसार सामाजिक कार्यका लागि भएको आबद्धता खारेज गर्न छुट्टै प्रक्रिया आवश्यक हुन्छ।

कम्पनी दर्ता खारेज भएसँगै संस्थाको नाम, संरचना र पोशाक प्रयोगबारे उठेका प्रश्न थप कानुनी तथा प्रशासनिक छानबिनको विषय बन्ने देखिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र २१, आईतवार १७:५९
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !