रसुवा बाढीपीडितका लागि रामजानकी हस्पिटलद्वारा ५१ हजार सहयोग

रसुवा बाढीपीडितका लागि रामजानकी हस्पिटलद्वारा ५१ हजार सहयोग
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १४, आईतवार १०:४६
रसुवा बाढीपीडितका लागि रामजानकी हस्पिटलद्वारा ५१ हजार सहयोग

जनकपुरधाम : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागी रामजानकी हस्पिटल प्रा.लि.जनकपुरधामले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

हस्पिटलका व्यवस्थापक मिथलेश साहका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा हुने गरी हस्पिटलले उक्त रकम सहयोग गरेको हो ।

ADVERTISEMENT

गत बुधबार बिहान ८ः४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गरेको थियो । बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित भएका छन् ।

बाढीपछि सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिएको छ । साथै, बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने कामसमेत भइरहेको छ ।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न आवश्यक रहेको भन्दै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको थियो ।

सरकारको उक्त अपिलपछि जानकी मन्दिरको मडवा पछाडि रहेको रामजानकी हस्पिटल प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत ५१ हजार रुपैयाँ सहयोग गरेको व्यवस्थापक साहले बताए ।

प्राकृतिक विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै हस्पिटलले आफ्नो तर्फबाट सहयोग गरेको साहले बताए ।

हस्पिटलका सञ्चालक गणेश साहका अनुसार सहयोग गरिएको ५१ हजार रुपैयाँ ग्लोबल आइएमई बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषको खातामा जम्मा गरिएको छ ।

प्रकाशित मिति: २०८३ भाद्र १४, आईतवार १०:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !