युवाका कार्यक्रम र बजेटको विवरण माग गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सूचना माग

युवाका कार्यक्रम र बजेटको विवरण माग गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सूचना माग
राघव मण्डल राघव मण्डल २०८३ भाद्र ९, मंगलवार २३:५८
युवाका कार्यक्रम र बजेटको विवरण माग गर्दै जनकपुरधाम उपमहानगरपालिकामा सूचना माग

जनकपुरधाम : युवालाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रम, विनियोजित बजेट, रोजगारीसम्बन्धी तालिम तथा रोजगारी सिर्जनाका कार्यक्रमको विवरण माग गर्दै जनकपुरधाम उपमहानगरपालिकासँग सूचना माग गरिएको छ ।

मंगलबार जनकपुरधामका लव झा, निशान्त ओझा, ज्योति ठाकुर र हुनेन्द्र नारायण शाहलगायत युवाले संयुक्त रूपमा हस्ताक्षर गरी उपमहानगरपालिकाका कार्यालय प्रमुखसमक्ष निवेदन दिएका हुन् ।

ADVERTISEMENT

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ र ६ तथा नेपालको संविधानको धारा २७ बमोजिम दिइएको निवेदनमा आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म युवालाई लक्षित गरी सञ्चालन गरिएका कार्यक्रमको विवरण माग गरिएको छ ।

निवेदनमा उक्त अवधिमा युवाका लागि छुट्याइएको बजेटको आर्थिक वर्षगत विवरणसमेत माग गरिएको छ । त्यस्तै, रोजगारीसम्बन्धी तालिम सञ्चालन गरिएका कार्यक्रम, तालिममा सहभागी संख्या तथा रोजगारी सिर्जना गरिएका कार्यक्रमको सूची उपलब्ध गराउन भनिएको छ ।

युवाहरूले कुन कार्यक्रमका लागि कति बजेट विनियोजन गरिएको थियो र ती कार्यक्रम कार्यान्वयन भए/नभएको तथा रोजगारी सिर्जनामा त्यसको प्रभावबारे जानकारी लिन सूचना माग गरेको बताएका छन् ।

निवेदक लव झाले युवालाई लक्षित गरी सञ्चालन भएका कार्यक्रम तथा त्यसमा विनियोजन र खर्च भएको बजेटसम्बन्धी तथ्यांक अध्ययनका लागि सूचना आवश्यक परेको बताए ।

त्यस्तै ज्योति ठाकुरले आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्म युवाका लागि छुट्याइएको बजेटको स्पष्ट विवरण आवश्यक रहेको बताइन् । युवाका नाममा विनियोजन गरिएको बजेट कुन–कुन कार्यक्रममा प्रयोग भयो भन्ने विषयमा जानकारी लिन निवेदन दिइएको उनको भनाइ छ ।

निवेदनमा माग गरिएको सूचना लिखित वा विद्युतीय माध्यमबाट उपलब्ध गराउन आग्रह गरिएको छ । सूचना प्राप्त गर्न लाग्ने कानुनबमोजिमको शुल्क तिर्नसमेत आफूहरू तयार रहेको निवेदकहरूले उल्लेख गरेका छन् ।

माग गरिएको सूचना कानुनले तोकेको समयसीमाभित्र उपलब्ध गराउन र आवश्यक विवरणसमेत प्रदान गर्न उनीहरूले उपमहानगरपालिकासँग आग्रह गरेका छन् ।

युवाहरूले उपमहानगरपालिकामा दिएको निवेदनको बोधार्थ राष्ट्रिय सूचना आयोग, अनामनगरलाई समेत दिएका छन् ।

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार २३:५८
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !