सबैलाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न माग गर्दै बीपी साहद्वारा एकल धर्ना

सबैलाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न माग गर्दै बीपी साहद्वारा एकल धर्ना
राघव मण्डल राघव मण्डल २०८३ भाद्र ९, मंगलवार २०:२८
सबैलाबाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न माग गर्दै बीपी साहद्वारा एकल धर्ना

जनकपुरधाम : राष्ट्रिय परिचयपत्र संकलन तथा वितरणको व्यवस्था सबैला नगरपालिकामै मिलाउन माग गर्दै राजनीतिक अभियानकर्ता एवं नगरप्रमुख (मेयर) पदका प्रत्यासी बीपी साहले नगरपालिका कार्यालय अगाडि एकल धर्ना दिएका छन्।

पूर्वघोषित कार्यक्रम अनुसार भदौ ९ गते मंगलबार बिहान १०:०० बजेदेखि ११:०० बजेसम्म पालिका कार्यालय परिसरमा उहाँले धर्ना दिनुभएको हो।

ADVERTISEMENT

हाल बैंक खाता खोल्न, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा मतदाता परिचयपत्र लगायतका सरकारी एवं सामाजिक सुरक्षाका काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। नेपाल सरकारले स्थानीय तहबाटै परिचयपत्रका लागि विवरण संकलन गर्ने नीति र व्यवस्था ल्याइसकेको भए पनि सबैला नगरपालिकाको बेवास्ताका कारण सर्वसाधारण नागरिकहरू जनकपुरसम्म धाउन बाध्य भइरहेका छन्। यसले गर्दा स्थानीय नागरिकको समय, श्रम र पैसा फजुल खर्च भइरहेको भन्दै नागरिकस्तरबाट असन्तोष व्यक्त हुँदै आएको छ।

स्थानीयको सुविधाका लागि सबैला नगरपालिकामै बायोमेट्रिक विवरण संकलन र परिचयपत्र वितरणको प्रबन्ध मिलाउन साहले यसअघि नगरप्रमुख कारिराम यादवलाई पटक-पटक मौखिक ध्यानाकर्षण गराउनुभएको थियो।

त्यसपछि पनि कुनै सुनुवाइ नभएपछि गत साउन २६ गते उहाँले आधिकारिक रूपमा ज्ञापनपत्र बुझाउनुभएको थियो। ज्ञापनपत्र बुझाएको लामो समय बितिसक्दा पनि पालिका प्रशासन नागरिकको समस्याप्रति निरन्तर उदासीन बनेपछि बाध्य भएर एकल प्रदर्शनमा उत्रनुपरेको साहले बताउनुभयो।

धर्ना कार्यक्रम पश्चात् नगरपालिका प्रशासनले नागरिकको समस्याप्रति चासो देखाउँदै आगामी एक साताभित्रै सबैला नगरपालिकामै राष्ट्रिय परिचयपत्र संकलन तथा वितरणको आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ।

नगरपालिकाको आश्वासनपछि साहले तोकिएको समयसीमाभित्र काम नभए पुनः सशक्त कदम चाल्न बाध्य हुने चेतावनी दिनुभएको छ।

नागरिकका मौलिक हक र सहज सेवा पहुँचका लागि चालिएको यो कदममा स्थानीयवासीले ऐक्यबद्धता जनाएका छन्।म

प्रकाशित मिति: २०८३ भाद्र ९, मंगलवार २०:२८
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !