बीपी साहद्वारा खरिहानीमा ५१ किलोको विशाल त्रिशूल स्थापना

बीपी साहद्वारा खरिहानीमा ५१ किलोको विशाल त्रिशूल स्थापना
बृषेशकुमार शर्मा बृषेशकुमार शर्मा २०८३ भाद्र १, सोमबार १७:०९
बीपी साहद्वारा खरिहानीमा ५१ किलोको विशाल त्रिशूल स्थापना

सबैला (धनुषा): धनुषाको सबैला नगरपालिका–१० स्थित खरिहानी गाउँमा नवनिर्मित सोमनाथ महादेव मन्दिरमा ५१ किलो तौलको विशाल त्रिशूल स्थापना गरिएको छ। सबैला नगरपालिकाका मेयर पदका प्रत्यासी उम्मेदवार एवं स्थानीय नेता बीपी साहको सहयोगमा उक्त त्रिशूल स्थापना गरिएको हो।

करिब ८ फिट अग्लो त्रिशूल सबैला नगरपालिकाभित्रका धार्मिकस्थलमा स्थापित त्रिशूलमध्ये सम्भवतः सबैभन्दा भारी र भव्य रहेको बताइएको छ।

ADVERTISEMENT

त्रिशूल स्थापना गर्नुअघि सोमबार भव्य धार्मिक र्‍याली अर्थात् ‘त्रिशूल यात्रा’ आयोजना गरिएको थियो। सबैला–१२ रघुनाथपुरस्थित ऐतिहासिक हरिहरनाथ मन्दिरमा विशेष पूजाअर्चना गरी सुरु भएको यात्रा नगर परिक्रमा गर्दै सतोषरधाम र सबैलास्थित दुर्गा मन्दिर हुँदै खरिहानी पुगेको थियो।

खरिहानीस्थित सोमनाथ महादेव मन्दिर परिसरमा पुगेपछि वैदिक मन्त्रोच्चारणसहित धार्मिक विधिबाट नेता बीपी साहले त्रिशूलको प्राणप्रतिष्ठा तथा स्थापना गरेका थिए।

त्रिशूल स्थापनापछि सम्बोधन गर्दै साहले सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्देश्यले शिव मन्दिरमा त्रिशूल स्थापना गरिएको बताए। उनले धार्मिक आस्था र सांस्कृतिक पहिचानको संरक्षणका लागि यस्ता कार्य आवश्यक रहेको उल्लेख गरे।

धार्मिक यात्रा तथा पूजाआजा कार्यक्रममा सयौँ स्थानीय श्रद्धालु, धर्मानुरागी तथा भक्तजनको सहभागिता रहेको थियो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण धर्मावलम्बीलाई साहले धन्यवाद तथा आभार व्यक्त गरे।

त्रिशूल स्थापनासँगै सोमनाथ महादेव मन्दिरमा पूजाआजा तथा दर्शनका लागि भक्तजनको चहलपहल बढेको छ। यसले खरिहानी क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने स्थानीयको विश्वास छ।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १७:०९
बृषेशकुमार शर्मा

बृषेशकुमार शर्मा

लेखक


तपाईको प्रतिक्रिया !