पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै लालटिन बोकेर पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै लालटिन बोकेर पत्रकारको प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २८, बिहीबार ११:४४
पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै लालटिन बोकेर पत्रकारको प्रदर्शन

काठमाडौं : पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर्न माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शनसहित धर्ना दिएको छ ।

महासंघ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा भएको प्रदर्शनमा पत्रकारहरूले कालोपट्टी बाँधेर सहभागिता जनाएका थिए । शान्तिपूर्ण रूपमा धर्ना बस्न खोज्दा प्रहरीले रोकेपछि केहीबेर प्रहरी र पत्रकारबीच घम्साघम्सीसमेत भएको थियो ।

ADVERTISEMENT

प्रदर्शनका क्रममा पत्रकारहरूले ‘प्रहरी दमन मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ र ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ लगायतका नारा लगाएका थिए । उनीहरूले प्रेस स्वतन्त्रतामाथि राज्यको हस्तक्षेप स्वीकार्य नहुने भन्दै विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । केही पत्रकारले बलिरहेको लालटिनसमेत बोकेर विरोध जनाएका थिए ।

नेपाल प्रहरीले मंगलबार जनआस्था साप्ताहिकका प्रधानसम्पादक श्रेष्ठलाई पक्राउ गरेको थियो । वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान प्रहरीले जनआस्था साप्ताहिकको कार्यालयमा समेत खानतलासी गरेको थियो । श्रेष्ठको पक्राउ र सञ्चारमाध्यमको कार्यालयमा गरिएको खानतलासीको विरोध गर्दै महासंघले तत्काल विनाशर्त रिहाइको माग गरेको छ ।

महासंघ अध्यक्ष शर्मासहित पत्रकारहरूको टोलीले मंगलबार राति पनि काठमाडौं प्रहरी परिसर अगाडि प्रदर्शन गरेको थियो । महासंघले श्रेष्ठलाई तत्काल रिहा नगरे थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव हुन् । खोजी पत्रकारितामा छुट्टै पहिचान बनाएका श्रेष्ठ निर्भीक पत्रकारका रूपमा परिचित छन् ।

प्रकाशित मिति: २०८३ श्रावण २८, बिहीबार ११:४४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !