जनकनन्दिनी गाउँपालिकाको किसानहितमा कदम: खेत जोताइको अधिकतम शुल्क निर्धारण

जनकनन्दिनी गाउँपालिकाको किसानहितमा कदम: खेत जोताइको अधिकतम शुल्क निर्धारण
राधेश्याम राउत राधेश्याम राउत २०८३ असार ३२, बिहीबार १५:२०
जनकनन्दिनी गाउँपालिकाको किसानहितमा कदम: खेत जोताइको अधिकतम शुल्क निर्धारण

जनकपुरधाम : धनुषाको जनकनन्दिनी गाउँपालिकाले किसानको आर्थिक भार कम गर्दै कृषि उत्पादन लागत नियन्त्रण गर्ने उद्देश्यले ट्र्याक्टरबाट गरिने खेत जोताइ तथा कृषि उपकरण प्रयोगको अधिकतम शुल्क निर्धारण गरेको छ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार निजी ट्र्याक्टरबाट फार (हल) प्रयोग गरी खेत जोत्दा प्रतिघण्टा अधिकतम रु. १,६०० र रोटाभेटर प्रयोग गर्दा प्रतिघण्टा अधिकतम रु. २,१०० मात्र लिन पाइनेछ। ट्र्याक्टर व्यवसायीहरूले मनपरी शुल्क असुलिरहेको गुनासो आएपछि यो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।

ADVERTISEMENT

यो निर्णय गाउँपालिका अध्यक्ष दिपिनदेव यादव, उपाध्यक्ष कमला सहगल तथा प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शर्मा सहितको संयुक्त बैठकबाट गरिएको हो।

गाउँपालिकाले आफ्नै ट्र्याक्टरमार्फत रोटाभेटर सेवा उपलब्ध गराउँदा प्रतिघण्टा रु. १,८०० शुल्क लिने व्यवस्था गरेको छ, जुन निजी क्षेत्रको दरभन्दा रु. ३०० कम हो। त्यसैगरी, गाउँपालिकाको ब्याकहो लोडर प्रयोग गरेबापत प्रतिघण्टा रु. २,००० शुल्क तोकिएको छ।

कृषि कार्यलाई व्यवस्थित, सहज र किसानमैत्री बनाउने उद्देश्यले दररेट निर्धारण गरिएको गाउँपालिकाको भनाइ छ। तोकिएको दरभन्दा बढी शुल्क असुलेको पाइएमा गाउँपालिकामा उजुरी गर्न सकिने र आवश्यक छानबिनपछि कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।

एम्बुलेन्स सेवातर्फ पनि गाउँपालिकाले नयाँ व्यवस्था लागू गरेको छ। गाउँपालिका क्षेत्रभित्रका गर्भवती महिलालाई घरदेखि बर्थिङ सेन्टरसम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ। साथै, बर्थिङ सेन्टरबाट जनकपुर रेफर गर्नुपर्ने अवस्थामा पनि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने उल्लेख गरिएको छ।

गाउँपालिकाका अनुसार स्थानीय तहबाट कृषि सेवा प्रभावकारी बनाउने र किसानमैत्री नीति कार्यान्वयन गर्ने अभियानअन्तर्गत यस्तो व्यवस्था लागू गर्ने जनकनन्दिनी गाउँपालिका धनुषा जिल्लाकै पहिलो स्थानीय तह बनेको दाबी गरिएको छ।

प्रकाशित मिति: २०८३ असार ३२, बिहीबार १५:२०
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !