सजाय निर्धारण र कार्यान्वयन फरक किन हुन्छ ?

सजाय निर्धारण र कार्यान्वयन फरक किन हुन्छ ?
राधेश्याम राउत राधेश्याम राउत २०८३ असार ३०, मंगलवार २२:१९
सजाय निर्धारण र कार्यान्वयन फरक किन हुन्छ ?

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले सोमबार १६ जना अभियुक्तलाई विभिन्न कसुरमा सजाय तोकेको छ। अदालतले अभियुक्तअनुसार फरक–फरक कसुरमा छुट्टाछुट्टै कैद, जरिवाना र बिगो निर्धारण गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सरकारी लिखत किर्ते, ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुरअन्तर्गत अभियोग दर्ता गरेको थियो। अदालतले पनि ती अभियोगअनुसार अलग–अलग कसुरमा सजाय निर्धारण गरेको हो।

ADVERTISEMENT

फैसलामा तोकिएका सबै कैद सजाय जोड्दा लामो जेल सजाय देखिए पनि कार्यान्वयनको क्रममा भने सबै कैद अवधि जोडिने कानुनी अभ्यास छैन। यही कारण यस प्रकरणमा सजाय कसरी कार्यान्वयन हुन्छ भन्ने विषय अहिले धेरैको चासोको केन्द्र बनेको छ।

यस विषयमा जिल्ला अदालत काठमाडौंका फैसला कार्यान्वयन अधिकारी धनबहादुर कार्कीका अनुसार एउटै घटनाबाट उत्पन्न भएका विभिन्न कसुरमा छुट्टाछुट्टै सजाय निर्धारण भए पनि कार्यान्वयनको विधि फरक हुन्छ।

उनका अनुसार कैद सजाय कार्यान्वयन गर्दा सामान्यतया सबैभन्दा बढी कैद भएको कसुरलाई आधार मानिन्छ र अन्य कैद सजाय त्यसैसँगै कार्यान्वयन हुन्छन्। तर बिगो र जरिवाना भने सबै कसुरअनुसार जोडिएर असुल गरिन्छ।

‘सामान्य अभ्यासमा सबैभन्दा ठूलो कैद सजाय कार्यान्वयन हुन्छ र अन्य कैद सजाय त्यसैमा समाहित हुन्छन्,’ कार्कीले भने, ‘यद्यपि यस मुद्दामा अदालतको पूर्णपाठ आएपछि आदेशको प्रकृति अध्ययन गरेर मात्रै कार्यान्वयनको अन्तिम स्वरूप स्पष्ट हुन्छ।’

प्रकाशित मिति: २०८३ असार ३०, मंगलवार २२:१९
राधेश्याम राउत

राधेश्याम राउत

लेखक


तपाईको प्रतिक्रिया !