वर्षा र पहिरोले देशैभरि विपद्को जोखिम: काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका ठप्प

वर्षा र पहिरोले देशैभरि विपद्को जोखिम: काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका ठप्प
मधेशपत्र मधेशपत्र २०८३ असार ३०, मंगलवार ०७:५०
वर्षा र पहिरोले देशैभरि विपद्को जोखिम: काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाका ठप्प

काठमाडौँ : लगातारको अविरल वर्षा र त्यसले निम्त्याएको पहिरोका कारण यात्रामा जोखिम अत्यधिक बढेको भन्दै काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै प्रमुख नाकाहरू पूर्ण रूपमा बन्द गरिएको छ। उपत्यका बाहिर जाने सवारी साधनहरूलाई नयाँ बसपार्क लगायतका विभिन्न क्षेत्रमै होल्ड गरेर राखिएको छ।

नागढुङ्गा, साँगा, र फर्पिङ नाका हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधनहरूको आवगमन ठप्प पारिएको हो। वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनहरूलाई यात्रा गर्न रोक लगाइएकोमा जोखिम कायमै रहेकाले आज बिहानदेखि सञ्चालन हुने दिवाकालीन सवारी साधनहरूलाई समेत प्रस्थान अनुमति दिइएको छैन।

ADVERTISEMENT

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका इन्सपेक्टर किरण घिमिरेका अनुसार नागढुङ्गा-मुग्लिन-नारायणगढ खण्डमा आउजाउ गर्न सवारी साधनहरूलाई पूर्ण रूपमा रोक लगाइएको छ। चितवनको केराबारी र तुइनखोला क्षेत्रमा ठुलो पहिरो खसेकाले सो सडक खण्डमा सवारी आवतजावत पूर्ण रूपमा अवरुद्ध बनेको छ। जिल्ला प्रशासन कार्यालय चितवनले हिजो बेलुकादेखि नै पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नहुन्जेलसम्मका लागि सवारीसाधनहरूको आवागमनमा रोक लगाउने निर्णय गरेको थियो।

यसैगरी, बीपी राजमार्गको रोशी खोलामा पानीको बहाव खतरनाक रूपमा बढेको र मङ्गलटार क्षेत्रमा लेदोसहितको पहिरो खसेकाले यो राजमार्ग हुँदै यात्रा गर्न पनि प्रशासनले रोक लगाएको छ। हेटौँडातर्फ जाने फर्पिङ-फाखेल-सिस्नेरी सडक खण्ड पनि पहिरोका कारण बन्द गरिएको छ भने कान्ति लोकपथको पाङ्दुरे र टाकुन्जे क्षेत्रमा गएको पहिरोले सो वैकल्पिक सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकको जोखिम विश्लेषण गरी परिस्थिति अनुकूल भएपछि मात्र कहाँसम्म यात्रा गर्न दिने वा नदिने भन्नेबारे थप निर्णय लिइने जनाएको छ। मौसम प्रतिकूल रहेकाले हाललाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सुरक्षा सतर्कता अपनाउन प्रहरीले सर्वसाधारणमा अपिल गरेको छ।

प्रकाशित मिति: २०८३ असार ३०, मंगलवार ०७:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !