मधेश प्रदेश : सतर्कता केन्द्रलाई ‘मौखिक आदेश’को जवाफपछि स्वास्थ्य निर्देशक न्यौपानेलाई स्पष्टीकरण

मधेश प्रदेश : सतर्कता केन्द्रलाई ‘मौखिक आदेश’को जवाफपछि स्वास्थ्य निर्देशक न्यौपानेलाई स्पष्टीकरण
मधेशपत्र मधेशपत्र २०८३ असार २४, बुधबार १४:२३
मधेश प्रदेश : सतर्कता केन्द्रलाई ‘मौखिक आदेश’को जवाफपछि स्वास्थ्य निर्देशक न्यौपानेलाई स्पष्टीकरण

जनकपुरधाम : प्रचलित कानुन र कार्यविधिविपरीत मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले राष्ट्रिय सतर्कता केन्द्रलाई पठाएको लिखित जवाफमा “मन्त्री र सचिवको मौखिक आदेश” का आधारमा काम गरिएको उल्लेख गरेपछि प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेसँग स्पष्टीकरण मागेको छ ।

पोषण सामग्री खरिद प्रक्रियाका सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले विवरण माग्दै पठाएको पत्रको जवाफमा निर्देशक न्यौपानेले मन्त्री र मन्त्रालयका सचिवको मौखिक निर्देशनका आधारमा टेन्डर स्वीकृतिको प्रक्रिया अघि बढाइएको उल्लेख गरेका थिए । सो पत्रको बोधार्थ मन्त्रालयमा पुगेपछि स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले बुधबार निर्देशक न्यौपानेसँग स्पष्टीकरण मागेको हो ।

ADVERTISEMENT

यसअघि मंगलबार स्वास्थ्य तथा जनसँख्या मन्त्री नागेन्द्रप्रसाद साहले आफू वा मन्त्रालयका सचिवले खरिद प्रक्रिया अघि बढाउन कहिले र कुन परिस्थितिमा मौखिक निर्देशन दिएको हो भनी निर्देशक न्यौपानेसँग प्रश्न गरेका थिए । मन्त्रालय स्रोतका अनुसार त्यसको कुनै ठोस आधार वा प्रमाण निर्देशक न्यौपानेले प्रस्तुत गर्न सकेनन् । त्यसपछि मन्त्री साहले उनलाई आफ्नो सरकारी निवासबाट धपाएका थिए ।

जानकारहरूका अनुसार आर्थिक वर्षको अन्त्यतिर एउटा निश्चित कम्पनीबाट पोषण सामग्री खरिद गर्ने उद्देश्यले निर्देशक न्यौपानेले मन्त्रालयको निर्देशनविपरीत प्रक्रिया अघि बढाएका थिए । प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत जेठ २९ गते टेन्डर रद्द गर्न निर्देशन दिए पनि निर्देशनालयले त्यसको कार्यान्वयन नगरी असार १२ गते टेन्डर स्वीकृतिका लागि आशयपत्र प्रकाशित गरेको थियो । निर्देशक न्यौपानेले टेन्डर आह्वान गर्ने निकायलाई नै टेन्डर रद्द गर्ने अधिकार रहेको तर्क गर्दै मन्त्रालयको निर्देशन कार्यान्वयन नगरेको स्रोतको भनाइ छ ।

मन्त्रालयको प्रशासनिक प्रमुख तथा लेखा उत्तरदायी अधिकृत रहेका सचिवको निर्णयसमेत मातहतका निर्देशकले नमानेको घटनाले निर्देशनालयको कार्यशैलीमाथि प्रश्न उठेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ । मन्त्रालय स्रोतका अनुसार निर्देशक न्यौपानेसँग मन्त्रालयको निर्देशन अटेर गर्नुका साथै मन्त्री र सचिवको नाम जोडेर मौखिक निर्देशनबाट टेन्डर स्वीकृति प्रक्रिया बढाएको गलत तथा भ्रामक विषय किन लिखतमा उल्लेख गरेको भनी स्पष्टीकरण मागिएको छ । साथै, कथित मौखिक

निर्देशनको कानुनी आधार के थियो र आवश्यक ठानेमा लिखित निर्देशन किन नलिइएको भन्नेबारे समेत जवाफ मागिएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवले निर्देशक न्यौपानेले राष्ट्रिय सतर्कता केन्द्रलाई पठाएको जवाफले प्रशासनिक उत्तरदायित्व र जवाफदेहितासम्बन्धी गम्भीर प्रश्न उठाएको बताए । उनले कथित मौखिक निर्देशनको आधार, प्रमाण तथा त्यससम्बन्धी सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशनालयलाई पत्राचार गरिएको जानकारी दिए ।

यता निर्देशक न्यौपानेले मन्त्रालयले नै स्वीकृत गरेको योजनाअनुसार पोषण सामग्री खरिद प्रक्रिया अघि बढाइएको र त्यसलाई अन्तिम क्षणमा रद्द गर्न निर्देशन दिँदा आफूहरू सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार अघि बढेको बताए । उनले राष्ट्रिय सतर्कता केन्द्रलाई दिइएको प्रत्युत्तरमा मन्त्री र सचिवको मौखिक निर्देशन भन्ने शब्दबारे टिप्पणी गर्न चाहेनन् ।

प्रकाशित मिति: २०८३ असार २४, बुधबार १४:२३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !