सघारामा स्वास्थ्य शिविर सम्पन्न, निःशुल्क जाँच र औषधिबाट २६७ जना लाभान्वित

सघारामा स्वास्थ्य शिविर सम्पन्न, निःशुल्क जाँच र औषधिबाट २६७ जना लाभान्वित
मधेश पत्र मधेश पत्र २०८३ असार १४, आईतवार २१:५७
सघारामा स्वास्थ्य शिविर सम्पन्न, निःशुल्क जाँच र औषधिबाट २६७ जना लाभान्वित

जनकपुरधाम : धनुषाको कमला नगरपालिका–४ स्थित सघारा चौकमा निःशुल्क छाला, कपाल, यौन तथा कुष्ठ रोग सम्बन्धी स्वास्थ्य शिविरबाट २६७ जना नागरिक लाभान्वित भएका छन्।

मधेश न्युज नेटवर्क प्रा.लि.जनकपुरधाम र सुर्या डर्मा एण्ड कस्मेटिक क्लिनिक जनकपुरधाम-१० अस्पताल रोडको संयुक्त आयोजना तथा कमला नगरपालिका–४ वडा कार्यालयको सहकार्यमा आइतबार सञ्चालन गरिएको शिविरमा विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण गरिएको हो।

ADVERTISEMENT

आयोजकका अनुसार शिविरमा १०५ पुरुष, १०२ महिला र ६० बालबालिकासहित कुल २६७ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। छाला, कपाल, नङ, यौन तथा कुष्ठ रोगसँग सम्बन्धित विभिन्न समस्या भएका बिरामीलाई विशेषज्ञ चिकित्सकबाट परामर्श प्रदान गर्नुका साथै आवश्यक औषधि निःशुल्क उपलब्ध गराइएको थियो।

सघारा चौकस्थित आश्रय स्थलको नवनिर्मित भवनमा बिहान ९ बजेदेखि दिउँसो ४:१५ बजेसम्म सञ्चालन भएको शिविरमा वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डा. जितेन्द्र यादव (एमडी) नेतृत्वको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो।

मधेश न्युज नेटवर्कका अध्यक्ष मनोज कुमार मोरबैताले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच अझै पनि सीमित रहेकाले नागरिकलाई आफ्नै गाउँ–ठाउँमा सहज, गुणस्तरीय र निःशुल्क उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको बताए।

उनका अनुसार आर्थिक अभाव, विशेषज्ञ चिकित्सकको कमी तथा उपचार खर्च धान्न नसक्ने अवस्थाका कारण धेरै नागरिक समयमै उपचारबाट वञ्चित भइरहेका छन्। यस्ता नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले स्थानीय बासिन्दालाई प्रत्यक्ष राहत पुगेको उनले बताए।

स्वास्थ्य सेवा सबै नागरिकको आधारभूत अधिकार भएकाले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविरलाई निरन्तरता दिँदै ग्रामीण बस्तीमा विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने तयारी रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०८३ असार १४, आईतवार २१:५७
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !