जनमत पार्टीद्वारा औरही गाउँपालिकालाई ७ बुँदे ज्ञापन पत्र बुझाइयो

जनमत पार्टीद्वारा औरही गाउँपालिकालाई ७ बुँदे ज्ञापन पत्र बुझाइयो
मधेश पत्र मधेश पत्र २०८३ असार ५, शुक्रबार १४:४४
जनमत पार्टीद्वारा औरही गाउँपालिकालाई ७ बुँदे ज्ञापन पत्र बुझाइयो

सिराहा, असार ५ – जनमत पार्टीले औरही गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा स्थानीय जनसरोकारका विषयहरूलाई समेट्दै गाउँपालिका अध्यक्षसमक्ष ७ बुँदे ज्ञापन पत्र बुझाएको छ।

ज्ञापन पत्रमार्फत पार्टीले शिक्षा, स्वास्थ्य, कृषि र रोजगार क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादनमुखी बजेट ल्याउन माग गरेको छ। गाउँपालिका अन्तर्गतका विद्यालयहरूमा विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक व्यवस्थापन, आवश्यक भौतिक पूर्वाधार, शौचालय तथा खानेपानीको व्यवस्था गर्नुपर्ने र स्वास्थ्य संस्थाहरूमा वर्षभरि पुग्ने औषधिको सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ।

ADVERTISEMENT

त्यसै गरी आगामी बजेट समावेशी, आवश्यकता-आधारित तथा जनपरामर्शमा आधारित हुनुपर्ने, हातेपाइप, सिँचाइ बोरिङ, मोटरलगायत वितरणमुखी कार्यक्रमहरूमा पारदर्शिता कायम गरी वास्तविक लाभग्राहीलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।

ज्ञापन पत्रमा कृषकहरूका लागि धान रोपाइँको समयमा मलखादको सहज तथा सुलभ उपलब्धता सुनिश्चित गर्न, श्री आधारभूत विद्यालय हरकट्टीको व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधारका लागि तत्काल विद्यालय व्यवस्थापन समिति गठन गर्न तथा आवश्यक सुधारका कदम चाल्न माग गरिएको छ।

यसैगरी युवाहरूमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न प्रभावकारी कार्यक्रम सञ्चालन गर्न, ट्राफिक सचेतना तथा सडक सुरक्षा अभियानलाई प्राथमिकता दिन र गाउँपालिकाका सम्पूर्ण गतिविधिमा सुशासन, पारदर्शिता, जवाफदेहिता तथा मितव्ययिता कायम गर्न पनि जनमत पार्टीले आग्रह गरेको छ।

जनमत पार्टीले ज्ञापन पत्रमा उल्लेखित विषयहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमा समावेश गरी प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पहल गर्न गाउँपालिका नेतृत्वसँग अनुरोध गरेको छ।

प्रकाशित मिति: २०८३ असार ५, शुक्रबार १४:४४
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !